कञ्चनपुर । कञ्चनपुर महेन्द्रनगरका हिमाल टमाटाले आफ्नो १५ वर्षको खेल जीवनमा पहिलो स्वर्ण चुम्दा खुशीको सीमा कुनै रहेन, यसले नयाँ इतिहास समेत रचना गर्यो ।
नेपालमा जारी १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा ट्रायथोलन अन्तर्गतको पोखरामा सम्पन्न डुआथोलन विधाको पुरुषतर्फको स्पर्धामा स्वर्ण पदक हासिल गर्दा नेपाललाई पहिलो पटक डुआथोलनमा स्वर्ण पदक समेत प्राप्त भयो ।
भारतमा सम्पन्न १२औँ संस्करणदेखि सागमा ट्रायथोलन खेल समावेश भएको थियो । सो प्रतियोगितामा नेपालले कास्य पदकमा चित्त बुझाउनु परेको थियो । घरेलु मैदानमा भएको प्रतियोगितामा नेपालले ट्रायथोलनमा सोनी गुरुङ र पुरुषतर्फ टमाटाले स्वर्ण पदकमा हासिल गर्न सफल भए ।
अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण चुम्ने टमाटाको सपना यस पटक साकार भएको छ । उनले दुई वर्षअघि नेपालगञ्जमा भएको आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितमा स्वर्णको सपना देख्न सुरु गरेका थिए ।
नेपाली सेनामा सेवारत टमाटाका लागि आठौँ राष्ट्रिय खेलकुद जीवनको ‘ट्रनिङ प्वाइन्ट’ बन्यो । राष्ट्रिय खेलकुदमा उनले डुआथोलन र माउन्टेन बाइकक्रसकन्ट्री दुबै खेलमा सहभागिता जनाएका थिए । एक दिनको अन्तरमा भएका दुबै प्रतियोगितामा उनले राम्रो गर्न सकेनन् । सागमा डुआथोलनमा रजत पदक विजेता लक्ष्मण मल्लले उनलाई पराजित गरेका थिए ।
राष्ट्रिय खेलकुद लगत्तै टमाटा आफूलाई डुआथोलनमामात्र केन्द्रित हुने निर्णयमा पुगे । सागमा स्वर्ण जित्ने लक्ष्य सहित उनी हरेक दिन अभ्यासमा व्यस्त हुन थालेका थिए । दौड र साइक्लिङमा उनको क्षमतालाई चिनेका प्रशिक्षकले समेत त्यसैतर्फ प्रेरित गरिरहेका छन् ।
राष्ट्रिय खेलकुदपछि एउटामात्र खेलमा केन्द्रित भएर राम्रो गर्नुपर्दछ भन्ने मलाई लाग्यो । त्यसबेला देखिनै डुआथोलनमा स्वर्ण हासिल छाड्छु भन्ने विश्वासले दिनहुँ अभ्यास गर्न थालेँ, टमाटा भन्छन् ।
दक्षिण एसियाली राष्ट्रहरुको सबैभन्दा ठूलो खेलकुदमा स्वर्ण हासिल गरे लगत्तै उनी हरेक ४ वर्षमा आयोजना हुने एसियाली खेलकुद (एसियाड) मा पदक जित्ने सपना देख्न सुरु गरेका छन् । सन् २०२२ मा चीनमा तय भएको एशियन गेममा पदक जितेर कीर्तिमान राख्ने उनको धोको छ ।
आफू कठिन अवस्थामा समेत कहिल्यै पनि हतास र निराश नहुने उल्लेख गर्दै उनी भन्छन्, मानिसले लक्ष्य ठूलो राख्नुपर्दछ । लक्ष्य अनुसारको मेहनत र परिश्रम गर्यो भने असम्भव केही पनि छैन । देशलाई एसियन गेममा पदक दिलाउने अब मेरो सपना छ ।
सागको तयारीका क्रममा समेत उनले चुनौती सामना गर्नुपरेको थियो । टमाटालाई अभ्यासकै क्रममा नयाँ साइकल आउने भनिएको थियो । तर प्रतियोगिताको दिनसम्म पनि नयाँ साइकल आएन । राम्रो पार्टपुर्जा र गुणस्तरीय साइकल भएकाहरुसँग सन् २०१४ मोडलको पुरानै साइकल लिएर उनी स्पर्धामा होमिएका थिए ।
त्यतिमात्र होइन खेलका क्रममा लगाउने पोशाक समेत उनले समयै पाएनन् । प्रतियोगिताको १/१ दिनअघि आएको पोशाक उनको शरीरमा मिलेन । त्यसपछि साथिको मागेर खेलमा भाग लिए ।
टमाटा भन्छन् हाम्रो साईकल ५/६ वर्ष पुरानो आल्मुनियमको हो । कार्वनको राम्रो साइकल भएकाहरुसँग प्रतिस्पर्धा कठिन भए पनि आत्मबलकै कारणले पनि उनीहरुलाई जित्यौँ ।
टमाटा १४/१५ वर्षको उमेरबाट नै खेलकुदमा आकर्षित थिए । दौड र कराँतेमा उनको लगाव थियो । विभिन्न जिल्ला तथा क्षेत्रीय प्रतियोगिताहरुमा ५ र १० किमी दौडमा उनी भाग लिन्थे ।
पछि उनी नेपाली सेनामा भर्ती भएपछि खेल्ने वातावरण अझै अनुकूल बन्यो । नेपाली सेनाका मेजर राजीव चन्दले उनलाई अघि बढ्न सधैँ प्रेरित गरे । सुरुमा साइकल राम्रोसँग डोहोर्याउन समेत नजान्ने उनलाई चन्दलेनै साइकल चलाउन सिकाए ।
मैले जुन सफलता पाएको छु,त्यसमा राजीव चन्दको ठूलो योगदान छ । उहाँले नै मलाई अघि बढ्न सहयोग गर्नुभयो । खुट्टा समातेर मलाई साइकल चलाउन सिकाउनुभयो, उनी भन्छन् ।
अहिलेदेखि नै आफू एसियाडको तयारीमा जुट्ने जानकारी दिँदै सरकारले खेलाडीहरुलाई सहयोग गर्न माग समेत गरे । नेपाली टोलीका प्रमुख प्रशिक्षक युवराज सुनुवारले टमाटा क्षमतावान् खेलाडी भएको बताउँछन् । उनी भन्छन्, राष्ट्रिय खेलकुद परिषद्बाट समयमै टोलीका लागि आवश्यक खेल सामग्री आउन ढिलाइ भयो । खेलाडीले अभावकाबीचमा समेत उत्कृष्ट नतिजा निकाल्न सफल भए ।
प्रकाशित मिति: बिहीबार, मंसिर १९, २०७६