काठमाडाैं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बिहीबार भएको भुटानविरूद्धको खेलमा नेपालले १ सय ४१ रनको विशाल अन्तरले जितेकाे छ ।
नेपालको जितमा कप्तान ज्ञानेन्द्र मल्ल नायक रहे । उनले शतकीय पारी खेल्दै ५५ बलमा १०७ रन बनाए । विस्फोटक ब्याटिङ गर्नेक्रममा उनले ९ छक्का र ५ चौका प्रहार गरे ।
नेपालका पारस खड्काले २ तथा करन केसी, ललित राजबंशी र पवन सर्राफले समान १र१ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय ३७ रन बनायो ।
बिहीबार त्रिवि क्रिकेट मैदानमा २ सय ३७ रनको लक्ष्य पछ्याएको भुटानले ६ विकेट गुमाएर ९५ रन मात्र बनायो । खेलमा भुटानका मिक्यो दोर्जीले सर्वाधिक २७ रन बनाए, त्यस्तै सोनाम तोब्गेयले १५, तोब्डेन सिन्गेले ११ रन बनाए ।
यस्तै भुटानविरुद्ध पारसले ५७ रनको अर्धशतकीय इनिङ्स खेल्दा उप कप्तान दिपेन्द्र सिंह ऐरीले अविजित ४५ रन बनाए ।
प्रकाशित मिति: बिहीबार, मंसिर १९, २०७६