बागलुङ । जिल्लाको बडिगाड गाउँपालिका–७ भिमगिठेको घोकर्नामा मंगलबार भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुगेको छ ।
गुल्मीको इश्मा गाउँपालिकाबाट बागलुङको निसीखोला गाउँपालिकातर्फ जाँदै गरेको ग १ ज ५२१९ नम्बर को जिप मध्यपहाडी लोकमार्गको बागलुङ बूर्तिवाङ सडक खण्डको छेउबाट करिब ३ सय मिटर तल बडिगाड खोलामा खस्दा बेपत्ता भएका इश्मा गाउँपालिका–४ का ६५ वर्षीय धनबहादुर कार्कीको शव आज फेला परेको छ ।
कार्कीको शव दुर्घटनास्थल भन्दा केही तल बडिगाड– ७ दिच्छेमा खोलाले बगाएको अवस्थामा फेला पारिएको स्थानीय पत्रकार दिनेश शर्माले बताए । दुर्घटनामा परी घटनास्थलमै ज्यान गुमाएका १४ जनाकै शव परिवारले बुझेर सामूहिक दाहासंस्कार गरिसकेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका नवलपरासी बर्दघाट नगरपालिका–२ का वर्षीय २१ वर्षीय जीवन कार्की, गुल्मी इश्मा गाउँपालिका– ४ का मृतक सूचना कार्कीका ४ वर्षीय छोरा हिमाल कार्की र सोही ठाउँ बस्ने २४ वर्षीया निमा केसीको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
घाइते तिनै जनालाई ढोरपाटनस्थित बूर्तिवाङ अस्पतालमा सामान्य उपचार पश्चात हेलिकप्टरमार्फत काठमाडौँ लगिएको थियो । दुर्घटनामा परेका सबै निसीखोलाको बायखोलामा कार्की बन्धुहरुको आज हुने भनिएको कूलपूजाका लागि जाँदै थिए ।
प्रकाशित मिति: बुधबार, मंसिर १८, २०७६