चितवन । भरतपुर महानगरपालिका–२६ स्थित नारायणी नदीमा आज बिहान गैँडा मृत अवस्थामा भेटिएको छ । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने सिसुवारमा गैंँडा मृत अवस्थामा भेटिएको हो ।
निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार बिहान ९ः३० बजेको समयमा खाग र खुरसहितको गैँडा भेटिएको खबर प्राप्त भएको हो । सो स्थानमा नदीले बगाएको अवस्थामा गैँडा भेटिएको थियो ।
गैँडालाई बग्न नसक्ने गरी निकुञ्ज सुरक्षार्थ नेपाली सेनाले बाहिर निकालेको जनाइएको छ । घिमिरेले सो स्थलमा निकुञ्जका चिकित्सकको टोली पुगेपछि यथार्थ विवरण भन्न सकिने बताए ।
बुढो गैँडा पानी खान जाने क्रममा नदीमा डुबेर बगाएको अनुमान गरिएको घिमिरेको भनाइ छ । यो सँगै चालु आर्थिक वर्षमा ५ वटा गैँडा कालगतिले मरेका छन् ।
प्रकाशित मिति: बुधबार, मंसिर १८, २०७६