काठमाडौँ । १३औँ दक्षिण एसियाली खेलकुद सागअन्तर्गत पुरुष फुटबलको आफ्नाे पहिलो खेलमा नेपालले भुटानविरुद्ध शानदार जित दर्ता गरेको छ । मंगलबार भएकाे प्रतियाेगितामा नेपालले भुटानलाई ४-० गोल अन्तरले हराएको हो ।
खेलको पाँचौ मिनेटमा नेपालका लागि पहिलो गोल कप्तान सुजल श्रेष्ठले गरे । पहिलो हाफमा १–० ले अगाडि रहेको नेपालका लागि दोस्रो हाफको पाँचौ मिनेटमा कप्तान सुजल स्वयम्ले दोस्रो गोल गरे । सुजलले खेलको ५० औं मिनेटमा नेपालको अग्रता दोब्बर बनाएका हुन् ।
त्यसैगरी खेलको ६६ मिनेटमा अभिषेक रिजालले हेडमार्फत् सुन्दर गोल गर्दै नेपालको अग्रता ३ शून्यले बढाए । सँगै खेलको ७७ औं मिनेटमा भुटानविरुद्ध मिच्चेन तामाङले चौथो गोल गरेका हुन् । तामाङको गोल नै नेपालको शानदार जितका लागि निर्णयक बन्यो । भुटानले केही प्रयास गरे पनि नेपालको जाली चुम्न सकेन ।
साग पुरुष फुटबल अन्तर्गत सोमबार भएको खेलमा भुटानले बंगलादेशलाई १–० ले हराएको थियो । यसअघि नै तीन अंक जोडिसकेको भुटानसँग नेपालले पहिलो खेल खेलेको हो । यो जितसँगै नेपालले ३ अंक जोडेको छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर १७, २०७६