पाेखरा । १३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत ट्रायथोलनको आज पोखरामा सम्पन्न स्प्रिन्ट विधाको डुवाथोलन प्रतिस्पर्धामा नेपालले पुरुषतर्फ १ स्वर्ण र १ रजत पदक जितेको छ। त्यसैगरी डुवाथोलनको महिलातर्फ नेपाल १ रजत पदक जित्न सफल भयो।
गौरीघाटमा भएको प्रतियोगितामा निर्धारित पाँच किमी दौड, २० किमी साइकल र पुनः २ दशमलव ५ किमी दौड ५७ मिनेट ३३ सेकेन्डमा पूरा गरी नेपालका हिमाल टमाटाले स्वर्ण पदक दिलाएका हुन् ।
नेपालकै लक्ष्मण मल्लले निर्धारित दूरी ५९ मिनेट १३ सेकेन्डमा पूरा गरी रजत तथा श्रीलङ्काका अशिथ परेराले ५९ मिनेट ३२ सेकेन्डमा दूरी पार गरी रजत पदक प्राप्त गरे।
त्यस्तै, महिलातर्फ श्रीलङ्काका एराङ्गा दुलाक्षीले निर्धारित दूरी १ घण्टा ५ मिनेट ५८ सेकेन्डमा पार गरी स्वर्ण पदक प्राप्त गरिन् भने नेपालका भूमि बुढामगरले १ घण्टा ८ मिनेट ५८ सेकेन्डमामा तोकिएको दूरी पूरा गरी रजत प्राप्त गर्न सफल भइन्।
श्रीलङ्काका उदय कुमारीले १ घण्टा ९ मिनेट ९ सेकेन्डमा निर्धारित दूरी पूरा गरी कास्य पदकमा चित्त बुझाइन् । सागको ट्रायथोलनमा आयोजक नेपालसहित भारत र श्रीलङ्काले सहभागिता जनाएका छन्।
ट्रायथोलनमा ५ स्वर्ण, ५ रजत र ५ कास्य गरी १५ पदकका लागि प्रस्पिर्धा भइरहेको छ । ट्रायथोलनमा सोमबार भएको प्रतिस्पर्धामा महिलातर्फ नेपाल तथा पुरुषतर्फ भारतले स्वर्ण पदक जितिसकेको छ ।
प्रतियोगिताअन्तर्गत बुधबार ‘मिक्स रिले’मा प्रत्येक देशबाट २-२ जना महिला तथा पुरुष गरी १२ जनाबीच प्रतिस्पर्धा हुँदै छ । फेवातालमा ३ सय मिटर पौडी, छ दशमलव ५ किमी साइक्लिङ र साढे २ किमी दौड रिलेमा समेटिएको छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर १७, २०७६