काठमाडौं । १३औं सागको दोस्रो दिन सोमबार नेपालले १५ स्वर्ण पदक जितेको छ । नेपालले कराँतेमा सात र तेक्वान्दोमा सात स्वर्ण पदक हात पारेको हो । सोमबार नै सुरु भएका यी दुवै खेलबाट नेपालले बढी पदकको आशा गरेको छ ।अर्को एक पदक पोखरामा सम्पन्न ट्रायथलनमा सोनु गुरुङले जितिन् ।
कराँतेका मन्डेकाजी श्रेष्ठ र तेक्वान्दोकी आयषा शाक्यले दुई/दुई स्वर्ण पदक हात पारे । मन्डेकाजीले पुरुष एकल काता र टिम कातामा स्वर्ण जितेका हुन् । टिम कातामा उनलाई महसुस मोक्तान र प्रवीण मानन्धरले साथ दिएका थिए । तेक्वान्दोमा आयषाले महिला एकल पुम्से २९ वर्षभन्दा माथि र पेयर पुम्सेमा स्वर्ण पदक जितिन् । पेयर पुम्सेमा उनलाई सञ्जीवकुमार ओझाले साथ दिएका थिए । अन्नपूर्ण पाेस्टमा समाचार छ ।
मन्डेकाजी र आयषा दुवै फरक परिस्थितिबीच प्रतियोगितामा सहभागी भएका खेलाडी हुन् । ३५ वर्षीय मन्डेकाजी कराँतेको कातामा विशेष दख्खल राख्छन् । उनले सागमा पदक जित्न १० वर्ष निरन्तर संघर्ष गर्नुप¥यो । यसअघिका दुई साग उनका लागि सुखद रहेन । सन् २०१० मा बंगलादेशमा ११औं साग हुँदा उनी २६ वर्ष पुगिसकेका थिए । त्यतिबेला उनी सागका लागि छनोट पनि भए ।
बंगलादेश सागका लागि उनले स्वर्णको लक्ष्यसहित तयारी पनि गरेका थिए । तर, उनले प्रतिस्पर्धा गर्ने भनेको स्पर्धालाई आयोजकले ११औं सागमा समावेश गरेन । त्यसैले उनले त्यो साग खेल्ने अवसर पाएनन् ।
उनले हिम्मत हारेनन् । १२औं सागमा आफ्नो सपना साकार पार्ने योजना बोकेर उनी निरन्तर तयारीमा लागिरहे । सन् २०१६ मा भारतमा सम्पन्न १२औं सागमा पनि कराँते खेल समावेश गरिएन । फेरि एकपटक सागमा स्वर्ण जित्ने उनको सपना अधुरै रह्यो ।
आफूले १० वर्षअघि देखेको सपना मन्डेकाजीले घरेलु मैदानमा पूरा गरे । सोमबार उनका लागि अर्को संयोग पनि जु¥यो । घरेलु मैदानमा सम्पन्न सागमा देशका लागि स्वर्ण पदक जित्ने उनी पहिलो खेलाडी बने । ‘मेरो वर्षौंदेखिको सपना साकार भएको छ । यो मेरो जीवनको सबैभन्दा सुखद क्षण हो’, दोस्रो स्वर्ण जितेपछि उनले अन्नपूर्णसँग भने ।
उनले आफूले जितेको स्वर्ण देश र सम्पूर्ण नेपालीप्रति समर्पित गरे । ‘यो स्वर्ण म देश र सम्पूर्ण नेपालीप्रति समर्पित गर्न चाहन्छु । मलाई निरन्तर साथ र सहयोग गर्नु हुने सबैप्रति आभारी छु’, मन्डेकाजीले भने, ‘पछिल्लो समय हिमानी मेरा लागि लक्की बनेर आएकी छन् ।’ हिमानी उनकी कान्छी छोरी हुन् । उनी भर्खर ६ महिनाकी भइन् । मन्डेकाजी भन्छन्, ‘हिमानी मेरा लागि लक्की छिन् । उनको आगमनपछि नै मेरो सपना पूरा भएको छ ।’
यसैगरी तेक्वान्दोमा दोहोरो स्वर्ण जित्ने आयषा दुई सन्तानकी आमा हुन् । आयषा कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक बिष्टकी पत्नी हुन् । आयषा प्रतिद्वन्द्वीसँग भिडन्त गरिरहँदा दीपक अधैर्य देखिन्थे । स्वर्ण पदक जितेपछि खुसीको आँसु थाम्न नसकेकी आयषा खुसीयाली मनाएपछि दौडँदै दीपकको अँगालोमा बाँधिन पुगेकी थिइन् ।
आयषाले सागमा जितेको यो तेस्रो स्वर्ण पदक हो । सन् २०१० मा बंगलादेशमा भएको ११औं सागमा दीपक र आयषा दुवैले देशका लागि स्वर्ण पदक जितेका थिए । दीपकले भने हाल सक्रिय खेलजीवनबाट सन्न्यास लिइसकेका छन् । १३औं सागको आइतबार भएको उद्घाटन समारोहमा दीपकले नै ओलम्पिक ज्योति प्रज्ज्वलन गरेका थिए । सोमबारको खेल सकिँदासम्म नेपाल पदक तालिकाको पहिलो स्थानमा छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर १७, २०७६