विराटनगर । प्रदेश नम्बर १ मा सबै किसिमका अपांगता भएका व्यक्तिको सङ्ख्या ९४ हजार ६ सय ४० छ । राष्ट्रिय अपांग महासंघ नेपाल प्रदेश नम्बर १ समितिद्वारा अपांगता भएका व्यक्तिको २८औँ अन्तरराष्ट्रिय दिवसको अवसरमा सोमबार यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रदेश नम्बर १ मा कूल जनसङ्ख्या ४५ लाख ३४ हजार ९ सय ४३ रहेकामा अपांगता भएका व्यक्तिको सङ्ख्या २ दशमलव शून्य आठ प्रतिशत रहेको जानकारी दिइएको छ । त्यसमा महिला ४२ हजार ६ सय ८१ र पुरुष ५१ हजार ९ सय ५९ छन् ।
अपांगता भएका व्यक्तिहरुको अधिकारलाई विश्वव्यापीरूपमा स्थापना गर्ने प्रयासका क्रममा सन् १९८१ लाई संयुक्त राष्ट्र संघले अन्तरराष्ट्रिय अपांगता वर्षका रुपमा घोषणा गरेपछि नेपालमा पनि यो दिवस मनाउन शुरु भएको महासंघ प्रदेश नम्बर १ समितिका अध्यक्ष पार्वता श्रेष्ठले बताइन् ।
अपांगता भएका व्यक्तिको शिक्षा, स्वास्थ्य, रोजगारी, सहभागिता, व्यक्तिगत स्वतन्त्रता र सामाजिक सुरक्षाजस्ता आधारभूत अधिकारको उपयोगमा विभेद, असमान व्यवहार र अवरोध सिर्जना हुन नहुने बताउँदै उनले पछिल्लो समयमा बनेका झण्डै ३७ कानुनमा अपांगता भएका व्यक्तिको सेवासुविधाका बारेमा केही न केही उल्लेख गरिएकाले यसतर्फ राज्यको ध्यान जानुपर्ने बताइन् ।
उनका अनुसार अपांगता भएका व्यक्तिमध्ये ८१ दशमलव ४ प्रतिशतको स्वास्थ्यावस्था अपांगता नभएका व्यक्तिको तुलनामा निकै दयनीय छ । ती ६१ प्रतिशत विभिन्न प्रकारका मानसिक स्वास्थ्यसम्बन्धी समस्याका शिकार भएको तथा २४ प्रतिशत अपांगता भएका व्यक्ति हिंसा र दुर्व्यवहारको सिकार हुने गरेको जानकारी दिइन् ।
प्रदेश नम्बर १ मा शारीरिक, दृष्टि, श्रवण, दृष्टिविहीन, स्वरबोलाई अपांगता, मनोसामाजिक अपांगता, बौद्धिक अपांगता र बहुअपांगताको तथ्याङ्क नियाल सबैभन्दा बढी मोरङमा १७ हजार ५३, झापामा १५ हजार ३ सय ७६, ताप्लेजुङमा ३ हजार ७ सय ३० र सोलुखुम्बूमा २ हजार ६ सय ९ छन् । रासस
प्रकाशित मिति: मंगलबार, मंसिर १७, २०७६