पाेखरा । पोखरामा जारी १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत पोखरा रंगशालास्थित क्रिकेट मैदानमा आज भएको महिला क्रिकेटको उद्घाटन खेलमा नेपालले विजयी सुरुआत गरेको छ । आयोजक नेपालले पहिलो खेलमा माल्दिभ्समाथि १० विकेटको ठूलो जित निकालेको हो ।
टस जितेर ब्याटिङ रोजेको माल्दिभ्स १०.१ ओभरमा १६ रनमै समेटिएको थियो । ७ रनमा पहिलो विकेट गुमाएको माल्दिभ्सले ११ रनमा दोस्रो र तेस्रो, १५ रनमा चौथो, पाँचौँ, छैटौँ र सातौँ तथा १६ रनमा बाँकी विकेट गुमाएको थियो ।
माल्दिभ्सको पारीमा हम्जा नियाजले नौ तथा हाफ्सा अब्दुल्लाले ४ रन जोडे । बाँकी सबै खेलाडी शून्यमै आउट भए । नेपालले अतिरिक्त ३ रन दिएको थियो ।
जितका लागि १७ रनको लक्ष्यसहित मैदान उत्रिएको नेपालले पहिलो ओभरमै विजयी लक्ष्य पार गर्यो । मात्रै ५ बलको सामना गरेकी काजल श्रेष्ठले ५ चौका प्रहार गर्दै अविजित १३ रन जोडिन् । ५ बल बलिङ गरेकी माल्दिभ्सकी बलर समा अलीले ४ अतिरिक्त रन दिएपछि ‘ननस्ट्राइक’मा रहेकी सीता मगरले १ बल पनि सामना गर्नुपरेन ।
२ दशमलव १ ओभरमा २ मेडनसहित बिनारन ६ विकेट लिएकी अञ्जली चन्द ‘वुमन अफ द म्याच’ भइन् । करुणा भण्डारीले २ ओभरमा २ विकेट लिइन् । उनले १ मेडन राख्दै ४ रन खर्चिएकी थिइन् ।
एकै खेलमा ४ कीर्तिमान
माल्दिभ्स विरुद्धको पहिलो खेलमा नेपालले ४ वटा नयाँ कीर्तिमान बनाएको छ । नेपाली बलर अञ्जली चन्दले २ ओभरमा १ रन पनि नदिई ६ विकेट लिइन् । यो टी–ट्वान्टीमा कीर्तिमान भएको नेपाली प्रशिक्षक जगतबहादुर टमटाले जिकिर गरे ।
त्यस्तै माल्दिभ्सका ९ खेलाडी ० रनमै आउट भएको पनि अर्को कीर्तिमान भएको टमटाको जिकिर छ । १६ रनमा अलआउट गर्नु अर्को कीर्तिमान हो भने मात्रै ५ बलमा जित हासिल गर्नु पनि अर्को कीर्तिमान भएको उनको दाबी छ ।
यसअघि नेपाल क्रिकेट सङ्घका केन्द्रीय सदस्य ऋषि गौतमको अध्यक्षतामा भएको उद्घाटन समारोहमा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले दुवै टोलीका खेलाडीसँग हात मिलाउँदै शुभकामना दिएका थिए । रासस
प्रकाशित मिति: सोमबार, मंसिर १६, २०७६