काठमाडाैं । ग्रेस एनएमसी (न्यु मिलेनियम कलेज) कप फुटसल प्रतियोगितामा रेडन कलेज प्रथम भएको छ भने आयोजक एनएमसी कलेजले दोस्रो स्थान हासिल गरेको छ ।
काठमाडौँको ढुकु फुटसल सेन्टरमा शुक्रबार र शनिबार सम्पन्न प्रतियोगिताको फाइनलमा रेडन कलेज र एनएमसीबीच १-१ गोलकाे बराबरी भएपछि पेनाल्टीमा रेडन कलेजले प्रथम स्थान हासिल गरेको थियो । उक्त फुटसल प्रतियोगितामा विभिन्न २८ फुटसल टिमको सहभागिता थियो ।
भूतपूर्व शिक्षामन्त्री राधाकृष्ण मैनालीले फुटसल उद्घाटन गरेका थिए । उक्त समारोहमा एनएमसीका चेयरमेन श्यामप्रसाद मैनाली, प्रबन्ध निर्देशक दीपकराज जोशी, प्रिन्सिपल सुवास जोशी, समाजसेवी र फुटबल/फुटसल जानकार नवीन पाण्डेको उपस्थिति थियो।
रोमाञ्चक फाइनल खेलमा दुवैतर्फको खेल आक्रामक र रणनीतिपूर्ण थियो । प्रतियोगिताको विजेता रेडन कलेजले नगद १ लाख साथै सिल्ड, मेडल, प्रमाणपत्र प्राप्त गरेको थियो भने उपविजेता एनएमसीले ५० हजारका साथै सिल्ड, मेडल, प्रमाणपत्र प्राप्त गरेको थियो।
प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्नेन्यु मिलेनियमका सरोज तामाङले बेस्ट प्लेयर उपाधि हात पारे भने हाई स्कोरर उपाधि न्यु मिलेनियम कलेजका कर्फु रसाइली (९ गोल) ले पाए । यस्तै बेस्ट किपरकाे उपाधि विजेता टिमकै नेत्र श्रेष्ठले हात पारे ।