काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले १३औँ दक्षिण एसियाली क्षेत्रीय खेलकूद (साग) को आइतबार साँझ दशरथ रङ्गशालामा आयोजित भव्य समारोहबीच उद्घाटन गर्दै छिन्
करिब सवा ३ घण्टा अवधिको उद्घाटन सत्रमा सहभागी मुलुकका खेलाडीको मार्च पासका अतिरिक्त नेपालको इतिहास, वर्तमान र भविष्यको मार्गनिर्देश गर्ने सन्देशसहितको विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत हुने छ । उद्घाटनका अवसरमा सातै मुलुकको संस्कृतिक झल्कने विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत हुने छ । सरकारले १३ औँ साग प्रतियोगितालाई ऐतिहासिक, भव्य र सभ्य बनाउन सम्पूर्ण तयारी पूरा गरिसकेको छ । प्रतियोगितामा सहभागी सातै देशका राष्ट्रिय झण्डोत्तोलन कार्यक्रम आजै सम्पन्न भइसकेको छ ।
काठमाडौं, पोखरा र जनकपुरमा मङ्सिर १५ देखि २४ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताका माध्यमबाट नेपालको इज्जत, प्रतिष्ठा र खेलक्षेत्रको गौरव उठाउने हिसाबले ऐतिहासिक, भव्य र सभ्य तुल्याउन कुनै कसर बाँकी नराख्ने युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले बताए ।
उद्घाटन समारोहमा १५ हजारभन्दा बढी दर्शकको सहभागिता रहनेछ । दक्षिण एसियाली मुलुकबीचको यो प्रतियोगीतालाई खेलकूद उत्सवको रुपमा लिने गरिएको छ । सागको यस पटकको मस्कट ‘कृष्णसार’ रहेको छ । सागमा नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, माल्द्भ्सि, भूटान र श्रीलङ्काका खेलाडीले २६ खेल विधामा प्रतिस्पर्धा गर्नेछन् ।
तयारी समितिका संयोजक रिमबहादुर रानाभाटले प्रतियोगितामा ५९४ खेलाडीको सहभागिता रहनेछ । सागलाई सफल तुल्याउन करिब १८ हजार सुरक्षाकर्मी र ५०० स्वयंसेवक परिचालन गरिएको छ । सन् १९८४ मा स्थापना भएको सागको १३औँ शृङ्खलासम्म आइपुग्दा नेपालले यसअघि दुई प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरिसकेको छ ।
सन् १९८४ मा पहिलो पटक नेपालबाट सुरु भएको सागको नेपालमा भएको यो तेस्रो संस्करण हो । सन् १९९९ मा नेपालमा दोस्रो पटक साग आयोजना गरिएको थियो । प्रतियोगिताअन्तर्गत महिला फुटबल, ब्याड्मिन्टन, आर्चरी, भारत्तोलन, बिच भलिबल, ट्रायथलन, हैण्डबल पर्यटकीयस्थल पोखरामा तथा ऐतिहासिक नगरी जनकपुरमा कुस्ती खेल हुने छ ।
१३ औं सागका लागि ३१७ स्वर्ण पदक, सोही सङ्ख्यामा रजत सोही सङ्ख्यामा रजत र ४८१ वटा कास्य पदक कायम गरिएको छ । नेपालले यो प्रतियोगीतामा कम्तिमा पनि दोस्रो स्थान हासिल गर्ने दाबी गरेको छ । सरकारले प्रतियोगितामा उत्कृष्ट नतिजा हासिल गर्ने खेलाडीलाई प्रदान गर्दै आएको पुरस्कार राशिमा उल्लेख्य वृद्धि गर्ने यसअघि नै घोषणा गरिसकेको छ । प्रतियोगिताको प्रत्यक्ष प्रसारण नेपाल टेलिभिजनबाट हुने छ । दक्षिण एसियाली मुलुकसहित विश्वका १५ भन्दाबढी मुलुकबाट प्रत्यक्ष प्रसारण हेर्न सकिने व्यवस्था मिलाइएको बताइएको छ ।
सरकारले सन् २०२० का लागि घोषणा गरेको नेपाल भ्रमण वर्षको रणनीतिक तयारी योजनासँग जोडेर यस पटकको सागको तयारी गरेको छ । काठमाडौँ, पोखरा र जनकपुर पुग्ने पाहुनालाई सो स्थानका सांस्कृतिक सम्पदा, रहनसहन, वेषभूषा, भाषा र संस्कृतिबारेमा जानकारी दिने व्यवस्था मिलाइएको छ । यस्तो कार्यक्रमले भ्रमण वर्ष २०२० वर्षलाई सफल तुल्याउन महत्वपूर्ण आधार तयार गर्ने मन्त्री विश्वकर्मा बताउँछन्।
प्रकाशित मिति: आइतबार, मंसिर १५, २०७६