काठमाडाैं । वस्तु तथा सेवा खरिद नै नगरी मूल्य अभिवृद्धि कर (भ्याट) को झुटा तथा नक्कली बिजक बनाएर लाखौँको राजस्व छली गरेको तथ्य फेला परेको छ ।
यसरी कर छली गर्नेमा काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका–११ का रामप्रसाद चौलागाईं र सोही जिल्लाको चौँरीदेउराली गाउँपालिका–५ का रामकृष्ण ढकाल रहेको राजस्व अनुसन्धान विभागले जनाएको छ ।
झुटा बिजक बनाएर उनीहरुले झण्डै ८७ लाख बिगो बराबरको राजस्व छली गरेको पाइएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए । उनीहरुविरुद्ध बिगोको दोब्बर जरिवाना तथा ३ वर्ष कैद सजायको माग गर्दै काठमाडौँ जिल्ला अदालतमा मुद्दा चलाइएको छ ।
मैनालीका अनुसार उनीहरुले कम्पनीमार्फत राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेधित गरेको कसुर गरेकाले मुद्दा चलाइएको हो ।
काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका–११ घर भई काठमाडौँ महानगरपालिका–९ बस्ने प्रभा इन्टरप्राइजेजका सञ्चालक रामप्रसाद चौलागाईंले ५९ लाख र सोही जिल्लाको चौँरीदेउराली गाउँपालिका–५ घर भई काठमाडौँ महानगरपालिका–३२ बस्ने जिपिसी ट्रेडर्सका सञ्चालक रामकृष्ण ढकालले झण्डै २८ लाख बिगो बराबरको राजस्व छली गरेको विभागले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १३, २०७६