काठमाडाैं । केही दिनयता काठमाडौँ उपत्यकाको तापक्रम दिनहुँ घट्दो क्रममा छ । गत बुधबारदेखि उपत्यकाको तापक्रम दैनिक २ देखि ३ डिग्री सेल्सियसले घटिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
तापक्रम घटेर चिसो बढ्नु कुनै नयाँ प्रणालीको प्रभाव नभई मौसमी कारण भएको मौसमविद् प्रतिभा मान्नधरले बताइन् । डिसेम्बरदेखि जनावरी २० सम्म निरन्तर तापक्रम घट्दै जाने छ , उनले भनिन्, आज काठमाडौँ उपत्यकाको तापक्रम यो वर्षकै कम ७ डिग्री सेल्सियसमा झरेको छ, बिहीबार उपत्यकाको तापक्रम ८ दशमलव ७ डिग्री सेल्सियस थियो ।
अझै उपत्यकाको तापक्रम घटेर शून्य डिग्रीसम्म पुग्ने मौसमविद्को अनुमान छ । केही दिनयता पश्चिमी वायुको प्रभावले काठमाडौँ उपत्यकाकासहित देशका धेरैजसो स्थानमा आंशिकदेखि सामान्य बदली भएको छ ।
शनिबारदेखि माैसममा क्रमिक सुधार हुँदै जाने बताइएको छ । हाल देशको पश्चिमी भू–भागलगायत मध्य तथा पूर्वी पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।
आज राति देशका पश्चिमी र मध्य पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी पहाडी भू–भागका १–२ स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
आइतबार पहाडी क्षेत्रमा आंशिक देखि सामान्य बदली रही अन्य स्थानमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्युनतम तापक्रम ७ डिग्री र अधिकतम तापक्रम २३ दशमलव शून्य डिग्री सेल्सियस छ ।
त्यस्तै आज सबैभन्दा कम जिरीको न्यूनतम तापक्रम २ दशमलव ८ डिग्री सेल्सियस छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १३, २०७६