पूर्वी युरोपेली बाल्कन क्षेत्रको मुलुक अल्बानियामा मङ्गलबार बिहान गएको शक्तिशाली भूकम्पबाट ठूलो जनधनको क्षति भएको उद्धारकर्मीहरुले बताएका छन् ।
अल्बानियाको रक्षा मन्त्रालयले बुधबारसम्म भूकम्पका कारण ३५ जनाको मृत्यु भइसकेको जनाएको छ । अझै पनि हराइरहेका व्यक्तिको खोज तथा उद्धारको कार्य जारी रहेको छ ।
मङ्गलबार बिहान अल्बानियालाई केन्द्र बनाएर ६.३ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको थियो । भूकम्पबाट ठूलो संख्यामा घरहरु ढलेका र भग्नावशेषमा मानिसहरु पुरिएका थिए ।
अल्बानियाका रक्षामन्त्री ओल्टा झाखाले बुधबार अपराह्न पत्रकार सम्मेलन गरी यस शक्तिशाली भूकम्पबाट मृत्यु भएका व्यक्तिको नाम पढेर सुनाउनुभएको थियो । उहाँले भूकम्पका कारण ६५७ जना घाइते भएका र ५० जनाभन्दा बढीलाई उद्धार गरिएको र उद्धार कार्य जारी रहेको पनि जानकारी दिए ।
रक्षामन्त्री झाखाले निकै क्षतिग्रस्तको निरीक्षण गर्न प्राविधिक खटाइने बताउँदै केही दिन शान्त रहन अपिल गरे ।
अल्बानियामा खोज तथा उद्धारका लागि इटाली र टर्कीका पनि उद्धारकर्मी परिचालन गरिएको छ । अल्बानियाली उद्धार निकायले आफ्ना उद्धारकर्मीहरु चौबिसै घण्टा काममा जुटेको बताएको छ ।
अल्बानिया सरकारले बुधबार तिराना र डुरेसमा आपतकालीन स्थितिको घोषणा गरेको छ । यी दुई क्षेत्र भूकम्पका कारण सर्वाधिक प्रभावित भएका छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर १२, २०७६