काठमाडौं । हिमाल आरोहणको उपयुक्त समय स्प्रिङ सिजन हो । स्प्रिङ सिजनमा करोडौँ आरोहणबापतको सलामी दस्तुर संकलन हुन्छ । तर यस वर्षको जारी अक्टोबर सिजनमा ऐतिहासिक आरोहीको संख्या बढेको छ । यस सिजनको सगरमाथा आरोहणको अनुमति त सन् २०१० पछि यो पहिलो भएको पर्यटन विभागले जनाएको छ ।
जारी सिजनमा पर्यटन विभागको तथ्यांकअनुसार विभिन्न देशका आरोहीहरुले ५३ हिमालका लागि अनुमति लिएका छन् । जसमध्ये सबैभन्दा धेरै आमाडब्लम हिमाल आरोहणका लागि अनुमति लिने ३ सय ४७ जना छन् । आमाडब्लम हिमाल आरोहणबापत मात्र यस सिजनमा १ करोड ५७ लाख २६ हजार ९ सय ८० रुपैयाँ राजस्व संकलन भएको छ ।
त्यस्तै मनास्लु हिमाल आरोहणका लागि विभिन्न देशका २ सय ६४ आरोहीबाट आरोहण शुल्कबापत २ करोड ७० लाख ८५ हजार ६ सय रुपैयाँ राजस्व संकलन भएको पर्यटन विभागले जनाएको छ ।
९ वर्षपछि पहिलो पटक सगरमाथा आरोहणका लागि लिइएको अनुमति शुल्कबापत मात्र यस वर्ष ६३ लाख ११ हजार ८ सय रुपैयाँ संकलन भएको छ । सगरमाथा आरोहणका लागि २ आरोहण दलका १० जनाले अनुमति लिए पनि हिउँ जमेका कारण आरोहण भने सफल हुन सकेन ।
न्नपूर्ण आरोहणका लागि १ समूहका ३ जनाले १ लाख १ हजार ६ सय ५५ रुपैयाँ, हिमलुङ आरोहणबापत ३० लाख २७ हजार ७ सय ३७ रुपैयाँ, धौलागिरी आरोहण शुल्कबापत ३२ लाख ८ हजार ५ रुपैयाँ लगायत गरी यस सिजनमा मात्र हालसम्म ६ करोड ५१ लाख ७० हजार २ सय ६० रुपैयाँ राजस्व संकलन भएको पर्यटन विभागको तथ्यांकमा छ ।
यस वर्षको जारी अक्टोबर सिजनमा १ सय ६५ आरोहण दलका १ हजार २ सय १० आरोहीले आरोहणका लागि अनुमति लिएका छन् । अहिले केही आरोहीहरु आरोहण क्रममा छन् भने केहीले सफलता हासिल गरेर फर्किसकेका छन् ।
२०७२ सालको भूकम्पका कारण घटेको पर्यटक आगमनको संख्या विस्तारै सुधार भइरहेको पर्यटन विभागले जनाएको छ । नेपाल पर्यटन वर्षको प्रचार, नेपाल सुरक्षित रहेको आदि प्रचारका कारण पर्यटकहरुको आगमन बढेसँगै आरोहीको संख्या पनि बढ्न थालेको पर्यटन विभागका सूचना अधिकारी सुरेन्द्र थापाले बताए ।
प्रकाशित मिति: बुधबार, मंसिर ११, २०७६