काठमाडौं । नक्कली हस्ताक्षर गरेर बैंक खाताबाट रकम झिक्ने समूहका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बैंकका ग्राहकहरुको नक्कली हस्ताक्षर गरेर बैंकबाट रकम झिक्ने गिरोहका ६ जना साढे १८ लाख रुपैयाँसहित पक्राउ परेका हुन् । पक्राउ पर्नेमा काभ्रेपलान्चोक पाँचखाल घर भई हाल कालीमाटी बस्ने १९ वर्षीय सुभाष श्रेष्ठ, १९ वर्षीय कुमार तामाङ, १८ वर्षीय मनिष घिमिरे र २१ वर्षीय अञ्जन बराल छन् ।
त्यस्तै, बागलुङ लगकोट नगरपालिका घर भइ काठमाडौँको बुद्धनगर बस्ने २५ वर्षीय सुमन पौडेल र सिन्धुपाल्चोक जिल्लाको ज्यामिरे घर भएर हाल काठमाडौँको सुविधानगर बस्ने ३० वर्षीय गोविन्द घिमिरे छन् ।
उनीहरूमाथि थप अनुसन्धान गर्न उच्च अदालत पाटनबाट ७ दिनको म्याद थपिएको प्रहरीले जानकारी दिएकाे छ ।
गत ८ गते राति साढे ८ बजे जनता बैंकका खातावाल गोपालमान राजबाहाकले आफ्नो खाताबाट पटक पटक गरी १९ लाख ९ हजार रुपैयाँ निकालेको म्यासेज आएपछि अनुसन्धान थाल्दा गिरोह पक्राउ परेको हो ।
पक्राउ परेका युवाले खातावालाको सक्कली एटिएम कार्डसमेत प्रयोग गरेकाले सम्बन्धित बैंकका कर्मचारीहरुको समेत मिलेमतोको आशंका प्रहरीकाे छ ।
उनीहरुबाट विभिन्न व्यक्तिहरूको नागरिकताको करिब ८८० प्रतिलिपि, विभिन्न व्यक्तिहरूको नाम र रकम उल्लेख गरिएको रजिस्टर २६ थान, हस्ताक्षर नमुना र व्यक्तिहरूको नाम उल्लेख गरिएको डायरी २ थान बरामद भएको छ।
प्रकाशित मिति: बुधबार, मंसिर ११, २०७६