भारतद्वारा हालै जारी गरिएको नयाँ राजनीतिक नक्साप्रति आपत्ति जनाउँदै स्विट्जरल्यान्डको राजधानी बर्नमा रहेको भारतीय दूतावासमा पुगेर नेपालीहरूले विरोध प्रदर्शन गरेका छन् ।
प्रवासी नेपाली एकता मञ्च, जनसम्पर्क समिति तथा गैरआवासीय नेपाली संघ स्विट्जरल्यान्डको संयुक्त आयोजनामा विरोध प्रदर्शनका साथै ज्ञापनपत्र बुझाइएको बताइएको छ । उक्त अवसरमा स्विट्जरल्यान्डको विभिन्न क्षेत्रमा रहेका नेपालीहरु तथा स्वीस नागरिकको समेत उल्लेख्य उपस्थिति थियो ।
स्थानीय प्रहरीको निगरानीमा भएको उक्त विरोध प्रदर्शनमा नेपालको राष्ट्रिय झण्डासहित सीमा अतिक्रमण बन्द गर, कालापानी लिपुलेक हाम्रो हो, भारत नेपालबाट फिर्ता जा लगायतका नाराहरु रहेको प्लेकार्ड तथा ब्यानरहरु बोकिएको थियो ।
झण्डै एक घण्टाको नाराबाजीपछि स्थानीय प्रशासनको अनुमति अनुसार ५ जना प्रदर्शनकारी र दुईजना पत्रकारहरुलाई दूतावास अगाडि सम्म जान दिइएको थियो । उक्त ज्ञापनपत्र प्रहरीले बुझेर परराष्ट्र मन्त्रालयमार्फत् दूतावासमा बुझाइने बताइएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्बोधन गर्दै लेखिएको उक्त पत्र प्रहरीलाईै बुझाईको बताइएको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर ११, २०७६