पाेखरा । पोखराको घार्मी खोलाबाट झन्डै १० किलोमिटर उकालो हिँडे पुगिन्छ अर्मलाकोट । अर्मलाकोटवासीका अनुसार यो सडक खनेको २५ वर्ष नाघ्यो । वडा नम्बर १६ को ‘डी’ गाउँ हुँदै यो सडक ‘कोट’सम्म पुग्छ । सडक खनेको साढे दुई दशक भयो, तर पिच बनेको छैन । कच्ची सडकमा मोटरसाइकलमा जाँदा–आउँदा चार घन्टा लाग्छ । सडक जटिल छ । ठाउँ–ठाउँमा खाल्डो परेको छ । पहिरो गएको छ । अर्मलाकोट बस्ने कैलाश गुरुङ भन्छन्, ‘अब चुनाव आयो । ठाउँ–ठाउँमा फेरि डोजर आएर काम गर्न थालेको छ । फेरि कुन दिन काम रोकिन्छ । यो बाटो जसले बनाइदिन्छ, हामी त्यसैलाई भोट दिन्छौँ ।’
‘कोट’ मा बस्नेहरूको त धेरै नै समस्या छ । पोखरा बजार आवत–जावतका लागि गाडी छैन । मान्छे बिरामी प-यो भने पनि झोलुंगो बनाएर बोकेर ल्याउनुपर्छ । रिजर्भका लागि गाडी बोलायो भने दिउँसो तीन हजार र राति पाँच हजार भाडा लिन्छन् । कोटनिवासी मोहन गुरुङ भन्छन्, ‘अघिल्लो चुनावमा हामीलाई भोट हाल्नुस् रेल आउँछ भन्थे । नयाँ पत्रिकामा समाचार छ ।
यो बाटो पिच हुन्छ भन्थे । तर, केही भएन । रुकुम/रोल्पामा विकास भएन भन्ने सुनेको थिएँ, पोखरा महानगरकै पारा त यस्तो छ । हामी त रुकुममा बसेजस्तो भएको छ । महानगरमा बसेकाले म वार्षिक ६ हजार कर तिर्छु, तर सुविधा केही छैन ।’ आफूले राखेका माग पूरा नगरेपछि राजनीतिक दलका नेताप्रति स्थानीयवासीको चरम अविश्वास देख्न सकिन्छ । उनीहरू भन्न थालेका छन्, ‘जब चुनाव आउँछ, तब गाउँमा डोजर आउँछ, जब चुनाव सकिन्छ डोजर पनि फर्किन्छ ।’
कोटवासीलाई जंगली जनावरले दिएको पीडा
कोटका मान्छेको दुःख यति मात्रै हैन । यहाँ पानीको समस्या छ । डेढ सय भोटर रहेको कोटमा हिउँदमा खानेपानी पर्याप्त आउँदैन । बाघ, भालु, बाँदरले सताएको छ । गुरुङ गुनासो पोख्छन्, ‘बाघभालुले धेरैको गाई, गोरु, भैँसी खाइसक्यो । बाँदरले अन्न खान्छ । अनि हामी के खानू ?’ कोटवासीले भोट माग्न आउने सबै उम्मेदवारलाई भने, ‘जंगली जनावर गाउँ पस्न नसक्ने गरी तारजाली लगाइदेऊ । पानी ल्याइदेऊ । गाडी सजिलै आउन सक्ने गरी बाटो बनाइदेऊ ।’
उम्मेदवारहरूलाई यही माग राखेको पनि वर्षौँ बितिसक्यो । अघिल्लो चुनावमा पनि आफूहरूले यही माग राखेको बताउँछन्, गुरुङ । भन्छन्, ‘हामीले यहाँ ढुक्कसँग बस्न पाए हुन्थ्यो । बिरामी हुँदा पोखरा बजारसम्म पुग्ने गाडी सजिलै भेटिए हुन्थ्यो । यति सानो कुरा पनि पु¥याउन सक्दैनन् । सबै दल उस्तै हुन् । जसलाई जिताए पनि काम गर्दैनन् ।’
कोटमा अहिले पाँच कक्षासम्म मात्रै पढाइ हुन्छ । ‘१० सम्म पढाइ हुने स्कुल भए नानी बाबुहरूलाई सहयोग हुन्थ्यो । यसपालि पनि उम्मेदवारहरूसँग त्यो माग राखेका छौँ,’ कोटकी नन्दा गुरुङ भन्छिन्, ‘मुख्य कुरा त यो बाटो जसले बनाइदिन्छ, सबै गाउँलेले उसैलाई भोट दिने भनेर भनेका छन् । म पनि कोट आउन बाटो बनाइदिने मान्छेलाई नै भोट दिन्छु ।’ अर्मलाकोट पुग्ने सबै दलहरूले समेत आश्वासन दिइरहेका छन्, ‘मलाई भोट दिनुस् । एक वर्षभित्र बाटो पिच गरिदिन्छु ।’
प्रकाशित मिति: बुधबार, मंसिर ११, २०७६