काठमाडौं: हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका सात वर्षीय समृद्ध राईले आफ्नो जन्मदिनका अवसरमा सानोघर टाँडी चितवनलाई सात हजार सहयोग गरेका छन् । यही मङ्सिर ९ गते सोमबार छ वर्ष पूरा गरी सात वर्ष टेकेका सन्दर्भमा बालक राईले सानोघरमा आश्रित फरक क्षमता भएका २० व्यक्तिलाई आर्थिक सहयोग गरेका हुन् ।
विद्या संस्कार (पहिलेको चेल्सी इन्टरनेसनल स्कूल) काठमाडौँमा कक्षा १ मा अध्ययनरत बालकले विभिन्न पत्रिकामा प्रकाशित चित्रवापत प्राप्त पारिश्रमिक, चाडबाडमा पाएको दक्षिणा रस आफन्तले दिएको पैसा सङ्कलन गरेर सानोघरलाई आर्थिक सहयोग गरेको समृद्धकी आमा रिङ्कु राईले जानकारी दिइन् । “समृद्धलाई सानैदेखि बाँडेर खानुपर्छ भन्ने पाठ सिकाएका छौँ । उनले प्रत्येक जन्मदिनमा जति वर्ष पुग्छन्, त्यति नै हजार सहयोग रकम प्रदान गर्ने भएका छन् ।”
समृद्धको जन्मदिनको अवसर पारेर उनको नाममा विद्यालय र घरमा दुई केक काटिएको जनाइएको छ । खानपिन गर्ने पैसा कटौती गरेर सामाजिक काममा लगाउने पारिवारिक सल्लाह अनुसार सहयोग गरिएकाे हाे ।
सात वर्षीय बालकबाट आर्थिक सहयोग पाउँदा आफूहरु खुशी भएको सानोघरकी संस्थापक विमला श्रेष्ठले बताएइन् । “आफ्ना छोराछोरीका नाममा गरिने फजुल खर्च रोकेर सामाजिक काममा लगाउन खोज्ने समृद्ध राईका आमाबुबाप्रति कृतज्ञ छु”, उनले भनिन् “सम्बन्धित छोराछोरीका अभिभावकले सानैदेखि यस्तो संस्कार सिकाउँदै लगेमा सुन्दर नेपाल झन् सुन्दर बन्ने थियो ।
प्रकाशित मिति: मंगलबार, मंसिर १०, २०७६