काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) का सदस्य सचिव डा. पुष्परमण वाग्लेले अब देशमै सीपयुक्त दक्ष जनशक्ति उत्पादन गरिने र उनीहरुलाई यहीँ रोजगारीको ग्यारेन्टी गरिने बताएका छन् ।
सोमबार काठमाडौंमा भएको सिटिइभिटी र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सीपयुक्त प्राविधिक जनशक्तिको माग प्रक्षेपण, उत्पादन तथा रोजगारी सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
देशमा भएको जनशक्तिमा सीपमूलक ज्ञान नभएको र रोजगारीको अवसर पनि कम भएकाले २ सस्ंथाले हातेमालो गरेर यो समस्या निराकरण गर्ने वाग्लेले जनाए । उनले अब विदेश जान चाहने युवाको पनि सीप परीक्षण गरेर मात्रै भिसा प्रक्रिया हुने अवस्था सिर्जना गर्ने उनले प्रतिबद्धता जनाए ।
नेपालमा रोजगारीको अवसर नभएको भन्दै करिब ५० लाख युवा वैदेशिक रोजगारीमा रहेको भन्दै उनले बिनासीप विदेश जानाले पनि नेपाली युवाले दुःख पाइरहेको बताए । अब विदेश जान चाहनेलाई पनि सीपयुक्त बनाउने गरी आफूहरुले योजना बनाएर काम गर्ने र त्यसमा सघाउन सम्पूर्ण युवालाई उनले आग्रह गरे ।
सरकारको सुखी नेपाली समृद्ध नेपालको अभियान पूरा गर्न पनि यस सहमतिले सहयोग पुर्याउने उनको विश्वास थियो ।
हेर्नुहोस् पूरा भिडियोः
प्रकाशित मिति: सोमबार, मंसिर ९, २०७६