काठमाडाैं । यही मंसिर १५ गतेका दिन विवाह पञ्चमीकाे अवसर पारेर १ सय ८ जोडी वर-वधूको एउटै मण्डपमा विवाह हुने भएको छ । माता जानकीको जन्मभूमि जनकपुरधाममा यही मंसिर १५ गते हुन लागेको विवाह पञ्चमी महोत्सवमा १ सय ८ जोडी सर्वसाधारण वर कन्याको सामूहिक विवाह हुन लागेको जनकपुर उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले बताए ।
जनकपुरस्थित जानकी मन्दिरसँगै रहेको मणिमण्डपमा विवाह पञ्चमीका दिन भगवान् रामचन्द्र र माता जानकीको विवाह हुने तथा सोही विवाहसँगै १ सय ८ जोडी वर कन्याको सामूहिक विवाह हुने कार्यक्रम रहेको प्रमुख साहले बताए ।
उनले प्रत्येक ५ वर्षमा भारतको अयोध्याबाट भगवान् रामचन्द्रको विशेष जन्ती, साधुसन्त, महात्मा र भारत सरकारका विभिन्न अधिकारीसहितका व्यक्तित्वहरु जनकपुर आउने गरेकामा यसपल्ट पनि त्यहाँबाट विशेष जन्ती हिँडिसकेको बताइएको छ ।
प्रत्येक वर्ष विवाह पञ्चमीका अवसरमा भगवान् रामचन्द्र र माता जानकीको वैवाहिक कार्यक्रम हुने गर्छ भने सोही विवाहसँगै सर्वसाधारणहरुले पनि विवाह गर्ने गरेका छन् ।
यसैगरी सुनसरीस्थित कोसी गाउँपालिकाले पनाि विवाह गर्न चाहने उमेर पुगेका युवायुवतीका लागि दरखास्त आह्वान गरेको छ । गाउँपालिका भित्रका विपन्न समुदायलाई लक्षित गरी सामूहिक विवाह कार्यक्रम गर्न दरखास्त आह्वान गरेको गाउँपालिका अध्यक्ष ऐयुब अन्सारीले जानकारी दिए । उनका अनुसार मंसिर १७ गतेभित्र नजिकको वडा वा गाउँपालिकाको कार्यालयमा विवाह गर्न चाहनेले नाम दर्ता गराउन सक्ने छन् ।
गाउँपालिकाले आवेदन दिएका जोडीहरुको मंसिर अन्तिम साता सामूहिक विवाह गराउने तयारी गरेको अध्यक्ष अन्सारीले बताए । विवाहका लागि अभिभावकको मञ्जुरी अनिवार्य गरिएको छ ।
गाउँपालिकाले सामूहिक विवाहका लागि १५ लाख रुपैयाँ बजेट विनियोजन गरको छ । ‘हामीले सूचना निकाली दरखास्त आह्वान गरेका छौं । मंसिर अन्तिम साता काेसी कटानमा सार्वजनिक समारोहकाबीच सामूहिक विवाह गरिने छ,’ अध्यक्ष अन्सारीले भने ‘विपन्न परिवारका छोराछोरीको विवाह गर्न गाह्रो नहोस भन्ने हाम्रो उद्देश्य हो ।’
प्रकाशित मिति: सोमबार, मंसिर ९, २०७६