काठमाडौं । काठमाडौंको लिटल एन्जेल स्कुलको आयोजनामा भएको १३औं एलए कप फुटबल प्रतियोगिताअन्तर्गत पहिलो दिन भएका खेलमा लिटल एन्जेल, केयुबी, पिपुल्स र सेन्ट जेभियर कलेज विजयी भएका छन् ।
प्रतियोगिताअन्तर्गत भएको पहिलो खेलमा लिटल एन्जेलले नेपाल किस्टलाई ० का विरुद्ध ५ गोलले पराजित गरेको छ । खेलमा एलएका तर्फबाट प्रशान्त अवस्थीले २ गोल, राहुल खड्का, प्रफुल बस्नेत र हिमांशु खडले समान १–१ गोल गरेका थिए । सो खेलको म्यान अफ द म्याच प्रशान्त अवस्थी घोषित भए ।
त्यसैगरी भएको दोस्रो खेलमा केयुबिले केसीएमलाई पेनाल्टी सुटआउटमा १ का विरुद्ध ३ गोलले पराजित गरेको छ ।
खेलको निर्धारित समयमा दुवै टिमबाट १–१ गोलको बराबरी भएपछि जितहारको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । सो खेलको म्यान अफ द म्याच जोन तामाङ घोषित भए ।
यसैगरी तेस्रो खेलमा पिपुल्स क्याम्पसले जेभियर इन्टरनेसनल कलेजलाई १ का विरुद्ध २ गोलले पराजित गरेको छ ।
पिपुल्सका तर्फबाट धिरज केसीले २ गोल गरे भने जेभियरबाट प्रशान्त लामाले १ गोल फर्काका थिए । उक्त खेलको म्यान अफ द म्याच पिपुल्सका धिरज केसी घोषित भए ।
यसैगरी चौथो खेलमा सेन्ट जेभियर कलेजले थेम्स कलेजलाई ० का विरुद्ध ३ गोलले हराएको छ । सेन्ट जेभियरका तर्फबाट रुविन श्रेष्ठ, विशाल बानियाँ र प्रज्वल केसीले १–१ गोल गरेका थिए ।
सो खेलको म्यान अफ द म्याच विशाल बानियाँ घोषित भएको लिटल एन्जेल स्कुलका फुटबल प्रशिक्षक राजेन्द्र कार्कीले जानकारी दिए ।
प्रकाशित मिति: आइतबार, मंसिर ८, २०७६