नेकपा एमालेका युवा नेता महेश बस्नेत, युवा संघका पूर्व अध्यक्ष हुन । उनले देशमा आम नागरिक माओवादी र उसको भ्रातृ संस्था वाइसिएलको आतंकबाट गुज्रिरहेको समयमा युथफोर्सको नेतृत्व गरेर बन्दुक र बारुद्धका विरुद्ध पाखुरा र लाठी उठाएर समाजमा अमनचयन कायम गर्न भूमिका निर्वाह गरे । २०६४ को निर्वाचनमा खुम्चिएको एमालेलाई २०७० मा अलि व्यापक मनाउ महेश लगायतका युवाहरुको पनि ठूलो भूमिका छ । २०५४ सालको स्थानीय निर्वाचनमा देशकै कान्छो गाविस अध्यक्ष भनेर परिचित बस्नेतसँग स्थानीय तहको निर्वाचन २०७४ को सन्दर्भमा आजकोन्युजले गरेको कुराकानी ।
नयाँ संविधान जारी भएपछि हुन लागेको स्थानीय निर्वाचनलाई कसरी लिनु भएको छ ?
–यो निर्वाचनलाई लिएर आम मतदाता उत्साहित छन । यो निर्वाचन ०६२/६३ को आन्दोलनपछि गाउँगाउँमा नीति र नेतृत्व पुर्याउने अभियान हो । राजनीतिक दलहरुले पनि प्रतिष्ठाको रुपमा लिएका छन । पहिलो चरणमा निर्वाचन हुन लागेको ३४ वटै जिल्लामा आम मानिस एकै मनले मतदानको प्रतिक्षामा छन ।
बस्नेतसँग गरिएको कुराकानी यहाँ हेर्न र सुन्न सक्नुहुन्छ ।
विगतको भन्दा यो निर्वाचनको बढी महत्व हो ?
–१५ वर्ष देशको स्थानीय निकाय जनप्रतिनिधि बिहीन बन्यो । जनप्रतिनिधि नहुँदा भ्रष्टाचार बढेको छ । भ्रष्टाचार विकेन्द्रीत भयो पहिला केन्द्रमा बढी हुने भ्रष्टाचार अहिले स्थनीय तहसम्म जरा गाड्नेगरी बढ्यो । राजनीतिक दलहरु पनि भ्रष्टाचारमा मुछिए । त्यसकारण राज्यको संरचनामा निर्वाचन भइराख्दा जति राम्रो हुन्छ नहुँदा राम्रो हुने कुरै भएन । फेरी पनि अहिले त नेपाली जनाताको जनप्रतिनिधिहरुले जारी गरेको संविधानमा भएको व्यवस्था अनुसार सिंहदरबार र जिल्ला सदरमुकामको अधिकार गाउँमा पुग्दै छ, जसको अभ्यास यस निर्वाचन पछि हुँदै छ । त्यही भएर विगतको निर्वाचनहरु भन्दा यो निर्वाचन धेरै महत्वपूर्ण रहेको छ । र राजनीति भित्रिको अराजकता र अपराधिकरण अन्त्य गर्नका लागि पनि निर्वाचनले टेवा पुर्याउछ भने धेरै मानिसलाई जनप्रतिनिधि बनाएर समाजसेवी बनाउने काम गर्छ ।
आम मतदातामा तपाईको अपिल के ?
–निर्वाचनमा प्रतिस्पर्धा हुने हो तर यसपटक सहकार्य देखियो । यो राम्रो लक्ष्ण हो । राजनीतिक दलहरु आफ्नो आफ्नो एजेण्डा त ल्याएका छन । तर उनीहरु सहकार्यको माध्यमबाट निर्वाचनमा सहभागी हुँदैछन । हुनत यो थ्रेस होल्डका कारण पनि हो । जेहोस मुख्य रुपमा देशमा केही दलको अस्तित्व देखियो कतै कांग्रेससँग सहकार्य र कतै एमालेसँग सहकार्य यसले च्याउ झैँ उम्रिएका राजनीतिक शक्तिहरुलाई काम गर्न बाध्य बानाउँछ ।
अनि समृद्धि र भ्राष्टाचार उन्मुलुन एमालेको मुख्य एजेण्डा हो । आत्मनिर्भरताको बाटोबाटै आर्थिक समृद्धि हाँसिल गर्ने लक्ष्य छ । प्रतव्यिक्ति आय ५ हजार डलर बनाउने र स्मार्ट सिटी बनाउने लगायतका विषयमा हाम्रो पार्टीको मुख्य एजेण्डा हुन । समाजवाद उन्मुख अर्थतन्त्रको लागि खानेपानी लगायत सम्पूर्ण आधारभूत कुरालाई सर्वसुलभ बनाउने हाम्रो प्रतिवद्धता छ । महिला अधिकारको संरक्षण र समानताको कुरामा एमाले अग्रपंक्तिमा देखिएको छ । युवाहरुलाई शैक्षिक योग्यताको प्रमाणपत्रको आधारमा ऋण दिएर स्वरोजगार बनाउने लगायत धेरै राम्रा कामहरु एमालेको सरकारले गरेको छ । अब भनेको स्थानीय सकारलाई अधिकतम उपयोग गर्ने हो । हामीले गाउँका २०–५० लाखका सडक बनाउन सिंहदरबार धाउन पर्ने बाध्यताको अन्त्य हुँदै छ । त्यही भएर एमालेले पहिल्यदेखि उठाएको अधिकार विकेन्द्रीकरणको माग अहिले पूरा भएको छ यसलाई साकार बनाउन पनि एमालेलाई सहयोग गर्न आम मतदानमा अपिल गर्दछु ।
राजनीतिक दलहरुले घोषणापत्रमा स्थानीय एजेण्डा किन कम प्राथमिकतामा परेको हो ?
–हाम्रो अभ्यास अव विकासको लागि ठूला परियोजजना बाहेक धेरै विकासका काम स्थानीय र प्रदेश सरकारले नै हेर्छ । विगतमा स्थानीय निकाय हुँदा पनि नीति निर्माण भन्दा पनि विकास निर्माणमा केन्द्रीत हुन्थ्यो अब त्यस्तो हुँदैन । स्थानीय एजेण्डा, स्थानीय नीति र विधि सबै स्थानीय सरकारले नै बनाएर लागू गर्छन । सबैले आफ्नो तहको लागि के आवश्यक हो के होइन गाउँमै जनप्रतिनिधिहरुले टुंगो लगाउँछन । जसले मुलुकलाई विकासको बाटोमा अझै तीव्रताका साथ अघि बढाउन सहयोग पुग्छ ।
अन्य दल भन्दा एमाले के कारण फरक ? मतदाताले किन भोट दिने ?
–सबै पहेँला धातु सुन हुँदैन । त्यसको जाँचका लागि कसी लागउनु पर्छ । एमाले २४ क्यारेटको सुन हो । विगतमा हामीले नै पनि एमालेको विशेषतालाई उपयोग गर्न नसकेकै हो । अब हामीले एमालेको स्पष्ट मार्गचित्र अनुसार देशलाई अघि बढाउनु पर्छ । भन्न खाजेको के हो भने एमलेलाई काम गर्न दिनुपर्छ । एमालेका चारवटा सरकारले गरेको कामले त देशमा अर्कौ खालको लहर आएको सत्य हो नि त । एमालेले अवसर पाउँदा भ्रष्टाचार हैन काम गर्छ भन्ने आम मतदातामा पनि परेको छ । हामीले आफ्नो गाउँ आफैँ बनाउन गाविसलाई दिएको अनुदान होस वा सामाजिक सुरक्षाको नाममा वृद्धवृद्धा, एकल महिला र आपंगलाई दिएको भत्ता, महिलाको नेतृत्व स्थापित गर्न गरेको योगदान र मुलुक जातिय द्धन्द्धमा जानै लगेका बेलामा एमालेको अडानका कारण रोकिएको सम्भावित दुर्घटना होस एमालेले जहिल्यै जनताको पक्षमा काम गरेको छ । नेपाली भूमि नै भारतलाई सुम्मिने सम्मका हर्कतहरु एमालेका कारण रोकिएको छ भने राष्ट्रियताको सवालमा आफ्नो गौरव स्थापित एमालेले गरेको छ । अर्को भारत निर्भर हाम्रो पारवहन गतिबिधि चीनसँगको सम्झौतासँगै फराकिलो भएको छ । यसकारण एमाले राष्ट्रका लागि चाहिने जनताको पार्टी हो । र अन्य दल भन्दा एमाले यी विशेषता कारण फरक छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०७४