काठमाडाैं । नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन नेपाल वायुसेवा निगमले आफ्ना सबै जहाजमा भ्रमण वर्षको लोगो राख्ने भएकाे छ ।
निगमको कार्यकारी समितिको बैठकले नेपाल भ्रमण वर्षलाई सघाउ पुर्याउन विभिन्न प्रवर्द्धनात्मक काम गर्ने निर्णय गरेको हो । निगमले आइतबार प्रेस विज्ञप्ति जारी गरि भ्रमण वर्ष २०२० लाई सफल बनाउन रणनीतिक कार्य योजनालाई थप परिष्कृत एवं परिणाममुखी बनाउने जनाएको छ।
मंसिर ५ गते बसेको निगम सञ्चालक समितिको बैठकले निगमको सम्पूर्ण विमान र निगमको स्वामित्वमा रहेको सबै सवारी साधनमा भ्रमण बर्षको लोगो राख्ने निर्णय गरेको निगमका सहप्रवक्ता सुलेश मिश्रले बताए। त्यसका लागि सबै विभागलाई निर्देशन दिएको जनाएको छ।
नेपाल भ्रमण वर्ष २०२० को लक्ष्य र निगमको व्यावसायिक प्रवर्द्धनलाई केन्द्रित गरी निगमले डिजिटल मिडियाबाट फेसबुक, ट्विटर, इन्स्टाग्राम र यूट्युबमा पर्यटन प्रवर्द्धनसम्बन्धी सामग्री प्रसारण गर्ने छ ।
निगमले गुणस्तरीय सेवासहित पर्यटक आकर्षण गर्न केन्द्रीय कार्यालयको बिक्री कक्ष रातको ८ बजेसम्म खुला राख्ने भएको छ ।
यस्तै काठमाडाैैका होटल तथा टुर अपरेटर व्यवसायीहरुसँग सम्झौता गरी विदेशवाट आएका यात्रुहरुलाई निगमका बाह्य स्टेशनबाट प्याकेजमा टिकट बिक्रीको व्यवस्था गरिने निगमले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, मंसिर ८, २०७६