काठमाडौं: भारतले हालै सार्वजनिक गरेको नक्सामा नेपालको लिम्पियाधुरा भुभाग समेटिएको विरोध गर्दै नेपाल सरकारले भारतलाई औपचारिक पत्र पठाएको छ । यसै साता पठाइएको पत्रमा भारतले सार्वजनिक गरेको नक्साप्रति नेपालको असन्तुष्टि पोखिएको छ ।
‘औपचारिक रूपमा पत्र पठाएका छौँ, भारतको जवाफको प्रतीक्षा गरिरहेका छौं,’ परराष्ट्र सचिव शंकरदास बैरागीले भने, ‘हाम्रो तर्फबाट ‘कम्युनिकेसन’ भइरहेको छ ।’
उनले भारतले मिचेको लिम्पियाधुरा क्षेत्रसम्मकै भूभाग नेपालको भएको प्रष्ट धारणा सरकारले पत्रमार्फत यसै साता पठाएको जानकारी दिए । नेपालले सीमा समस्या समाधान गर्न उच्च स्तरीय वार्ताको लागि समेत पत्रमार्फत भारतलाई प्रस्ताव गरेको छ ।
‘नेपालले पटक पटक भनिरेहेको छ,’ परराष्ट्र सचिव बैरागीले थपे, ‘भारतको जवाफ यसपाला आउला भनेरै पर्खिरहेका छौँ ।’ भारतको जवाफ आउनासाथै वार्ता गर्न नेपाल तयारी अवस्थामा बसेको जानकारी उनले दिए ।
भारतले गत कात्तिक १६ गते नेपालको भूभागमा पर्ने लिम्पियाधुरा, कालापानी, लिपुलेक सहितको ३७२ वर्गकिलोमिटरभन्दा बढी क्षेत्र अतिक्रमण गर्दै आफ्नो नयाँ नक्सा सार्वजनिक गरेको थियो । सो घटनाको चौतर्फी विरोध हुँदा भारतले आफूले पहिलेको नक्सामा नेपालको भूभागतर्फ कुनै फेरबदल नगरेको प्रतिक्रिया दिएको थियो ।
त्यसअघि नेपालले लिम्पियाधुरा सहितको क्षेत्र नेपालको भएको नेपाल सरकारुले प्रष्ट्याएको थियो । पररराष्ट्र मन्त्रालयले वक्तव्य जारी गर्दै त्यसमा कुनै समस्या देखिए कूटनीतिक वार्ताबाट समाधान गर्नुपर्ने जनाएको थियो । तर भारतलाई सिधै नेपालको तर्फबाट पत्र पठाएर सोधनी गरिएको थिएन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
प्रकाशित मिति: आइतबार, मंसिर ८, २०७६