चितवन । चितवनका ६ र मकवानपुरका २ पालिकामा लगाइएको नक्कली गरिमा धानको क्षति मूल्यांकन गरिएको छ । जग्गाको उत्पादन क्षमताको आधारमा १० करोड ३७ लाख २९ हजार ४ सय ८४ र उत्पादन लागतको आधारमा ७ करोड ३६ लाख ९१ हजार ३ सय रुपैयाँ बराबरको क्षति मूल्यांकन गरिएको हाे ।
बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्रका प्रमुख मदन थापाको नेतृत्वमा गठन भएको समितिले दुवै जिल्लामा लगाइएको धानको क्षति मूल्यांकन गरेको हो । कृषि ज्ञान केन्द्र भरतपुरका प्रमुख राजन ढकालका अनुसार क्षतिको विवरण कृषि सचिव युवकध्वज जिसीलाई समितिले आज बुझाउँदै छ । ढकालले भने, हामी आजै कृषि सचिवलाई प्रतिवेदन बुझाउँदै छाँै । क्षतिपूर्ति के कति हुने भन्ने निर्णय सरकारले गर्छ ।
केन्द्रका बाली विकास अधिकृत माधव पौडेलका अनुसार समितिले बालीको लागत अनुमानको आधारमा, बीमा नीतिको आधारमा र उत्पादन क्षमताको आधारमा क्षति मूल्यांकन गरेको छ ।
बालीको लागत अनुमानको आधारमा ७ करोड ३६ लाख ९१ हजार ३ सय १७ रुपैयाँ क्षतिको मूल्यांकन गरिएको पौडेलले जानकारी दिए । यसमा प्रतिकट्ठा लागत मूल्य ३ हजार ६ सय ३५ रुपैयाँ मूल्यांकन गरिएको छ ।
बीमा नीतिको आधारमा ६ करोड ६३ लाख २२ हजार १ सय ८६ रुपैयाँ क्षति मूल्यांकन गरिएको छ । यसमा पनि प्रतिकट्ठा लागत ३ हजार ६ सय ३५ नै मूल्यांकन गरिएको छ । उत्पादन क्षमताको आधारमा सबैभन्दा बढी १० करोड ३७ लाख २९ हजार ४ सय ८४ क्षति मूल्यांकन गरिएको उनले जानकारी दिए । यसमा प्रतिकट्ठा ५ हजार १ सय १६ रुपैयाँ मूल्यांकन गरिएको छ ।
कृषि ज्ञान केन्द्र, चितवनले दिएको जानकारीअनुसार उत्पादन क्षमताको आधारमा मकवानपुरको मनोहरी गाउंँपालिकाको २ सय ७२ बिघा क्षेत्रफलको ५ हजार १ सय १६ का दरले १३ लाख ९१ हजार ७ सय ३३ रुपैयाँ बराबरको क्षति मूल्यांकन गरिएको छ । यसैगरी राक्सिराङ गाउंँपालिकाको ७६ बिघामा लगाइएको धानको ३ लाख ८८ हजार ८ सय ६६ क्षति मूल्यांकन गरिएको छ ।
चितवन जिल्लाको राप्ती नगरपालिकाको ६ हजार ४० बिघाको प्रतिकठ्ठा सोहीअनुसार ३ करोड ९ लाख ४ हजार ६ सय ६६, खैरहनी नगरपालिकाको ४ हजार १ सय ११ बिघा क्षेत्रफलको २ करोड १० लाख ३८ हजार ९ सय ८३, कालिका नगरपालिकाको १ हजार ६८ बिघाको ५४ लाख ६७ हजार १ सय ५८ रुपैयाँकाे क्षति मूल्यांकन गरिएको छ ।
यसैगरी रत्ननगर नगरपालिकाको ३ हजार १ सय ३० बिघामा १ करोड ६० लाख १८ हजार ९ सय १, भरतपुर महानगरपालिकाको ३ हजार २ सय ७५ बिघाको १ करोड ६७ लाख ६१ हजार ७४ रुपैयाँ क्षति मूल्यांकन गरिएको छ । यस्तै माडी नगरपालिकाको २ हजार २ सय ९८ बिघामा १ करोड १७ लाख ५८ हजार १ सय रुपैयाँ क्षति मूल्यांकन भएको छ ।
केन्द्रले दिएको जानकारीअनुसार समितिले उत्पादन लागत अनुमानको आधारमा पनि क्षति मूल्यांकन गरेको छ । मनोहरी गाउंँपालिकामा २ सय ७२ कठ्ठा क्षेत्रफलमा ९ लाख ८८ हजार ७ सय १२ रुपैयाँ बराबरको क्षति मूल्यांकन गरिएको छ ।
राक्सिराङ गाउंँपालिकाको ७६ बिघामा २ लाख ७६ हजार २ सय ५८ बराबरको क्षति मूल्यांकन गरिएको छ । यसैगरी राप्ती नगरपालिकाको ६ हजार ४० कट्टा क्षेत्रफलको २ करोड १९ लाख ५५ हजार २ सय ३८, खैरहनीको ४ हजार १ सय ११ बिघामा १ करोड ४९ लाख ४६ हजार ४ सय ७७ रुपैयाँ क्षति मूल्यांकन भएको छ ।
यसैगरी रत्ननगर नगरपालिकामा ३ हजार १ सय ३० बिघा क्षेत्रफलमा ३८ लाख ८३ हजार ९ सय ६९, भरतपुर महानगरपालिकाको ३ हजार १ सय ३० बिघामा १ करोड १९ लाख ७ हजार ३ सय ७२ को क्षति मूल्यांकन गरेको छ । माडी नगरपालिकाका २ हजार २ सय ९८ बिघामा ८३ लाख ५३ हजार १ सय ६८ क्षति भएको छ ।
चितवनको इच्छाकामना गाउँपालिकाबाहेक सबै तहमा गरिमा धान लगाइएको थियो । सबै स्थानीय तहमा गरी नक्कली गरिमाको धानबाट २ हजार ६ सय ९० किसान यसको प्रत्यक्ष मारमा परेका छन् । २ जिल्लामा गरी ६ सय ७५ हेक्टरमा यो धान लगाइएको थियो ।
गरिमा जातको धानमा तोकिएको समयभित्र बाला नलागेपछि सरकारी टोलीले स्थलगतरुपमा क्षतिको मूल्यांकन गरेको थियो । मूल्यांकन टोलीले बाला नलागेको धान सक्कली गरिमा जातको धान नभएको बताएको थियो । धान पाक्ने समयमा पनि बाला नलागेपछि कृषक चिन्तित वनेका छन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ६, २०७६