काठमाडौं । ऐन संशाेधनकाे माग राख्दैनिर्माण व्यवसायीहरूले सार्वजनिक खरिद अनुगमन कार्यालयमा धर्ना दिएका छन् ।
शुक्रबार नेपाल निर्माण व्यवसायी महासंघको अगुवाइमा निर्माण व्यवसायीहरुले काठमाडौंको ताहाचलस्थित सार्वजनिक खरिद अनुगमन कार्यालयमा १ घन्टा धर्ना दिएका हुन् ।
सार्वजनिक खरिद नियमावली–२०७६मा गरिएको निर्माण कम्पनीहरूको म्याद थप र बैंक क्रेडिट लाइनसम्बन्धी व्यवस्था तत्काल संशोधन गर्न माग गर्दै उनीहरूले सरकारविरुद्ध आन्दोलन गर्दै आएका छन् ।
टोलीले अनुगमन कार्यालयका सचिव मोहनकृष्ण सापकोटालाई भेटेर आफूहरूको समस्या समाधानका लागि सरकारसँग सहजीकरणको भूमिका निर्वाह गरिदिन आग्रह गरे।
यसैबीच, अनुगमन कार्यालयका सचिव सापकोटाले ऐन संशोधन गरेर निर्माण व्यवसायीहरूको माग सम्बोधन गर्न सहजीकरणको भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले निर्माण व्यवसायीको माग सम्बोधन गर्नका लागि आफूहरुले कानुनी परामर्शको काम सुरु गरिसकेको पनि जानकारी दिए ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ६, २०७६