काठमाडौं । भूमिसुधार तथा मालपोत कार्यालय सिरहाका प्रमुख रामबाबु मण्डल ५ लाख रूपैयाँ घूससहित पक्राउ परेका छन्
सुकुम्बासीको जग्गा सम्बन्धी कागजात माग्न आएका सेवाग्राहीसँग मण्डलले घूस मागेपछि एक हप्ताअगाडि आयोगको बर्दिबास इकाई कार्यालयमा उजुरी परेको थियो ।
अख्तियारको कार्यालय बर्दिवासको टोलीले सेवाग्राहीलाई ५ लाख रुपैयाँ दिएर पठाएको थियो । सेवाग्राहीलाई पछ्याउँदै गएको अख्तियारको टोलीले मण्डललाई कार्यकक्षबाटै रकमसहित पक्राउ गरेको हो । मण्डलमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।
यसैगरी, शिक्षा विकास निर्देशनालय प्रदेश नम्बर ५ बुटवलमा कार्यरत सबइन्जिनियर सन्दिप पौडेल र जेसिबी चालक बिक्रम बस्नेत १ लाख २० हजार रुपैयाँ घूस रकमसहित पक्राउ परेका छन् ।
विद्यालयको भवन निर्माणको अन्तिम किस्ता बापतको रकम विद्यालय खातामा निकासा गर्ने क्रममा पटकपटक सेवाग्राहीसँग घूस माग गरेको उजुरीका आधारमा पौडेललाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए ।
पौडेललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम तथा विक्रम बस्नेतलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) मा उल्लेख भए अनुसार सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) खण्ड (घ) बमोजिम सजायको मागदाबीसहित आरोपपत्र दायर गरिएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ६, २०७६