श्रीलंकाको नयाँ राष्ट्रपतिमा निर्वाचित गोटाबाया राजापक्षेले आफ्नै दाइ महिन्दा राजापाक्षेलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । राष्ट्रपति गोटाबायाले प्रधानमन्त्रीका रुपमा महिन्दालाई बिहीबार नै शपथ ग्रहण गराउने अधिकारीहरुले जनाएका छन् ।
प्रधानमन्त्रीमा नियुक्त भएका राजापक्षे यसअघि झण्डै १० वर्ष राष्ट्रपति भएका थिए । सन् २००५ देखि २०१५ सम्म उनले राष्ट्रपतिको रुपमा श्रीलंकामा शासन गरेका थिए ।
यसअघि बुधबार निवर्तमान प्रधानमन्त्री रनिल विक्रमासिंघेले पदबाट राजीनामाको घोषणा गरेका थिए । नयाँ राष्ट्रपतिलाई आफ्नो अनुकुलको सरकार गठनका लागि मार्गप्रशस्त गरिदिन उनले राजीनामा दिएका हुन् ।
राजीनामा दिनेबारेमा विक्रमासिंघेले मंगलबार नै नवनिर्वाचित राष्ट्रपति राजापाक्षेसँग छलफल गरेका थिए । भेटवार्ताका क्रममा प्रधानमन्त्री विक्रमासिंघेले राष्ट्रपति राजापाक्षेलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएको जनाइएको छ ।
विक्रमासिंघेले राजीनामा घोषणा गरेपछि राष्ट्रपति राजापाक्षेले आफ्नै दाइ महिन्दालाई प्रधानमन्त्री बनाएका हुन् । महिन्दा नेतृत्वको नयाँ सरकारको मन्त्रिमण्डल सानो आकारको हुने जनाइएको छ ।
सन् २०२० को मार्च १ पछि नयाँ संसद बन्ने भएकाले त्यतिबेलासम्म नै सानो मन्त्रिपरिषद् मात्रै रहने अनुमान गरिएको छ । स्राेतका अनुसार नयाँ मन्त्रिपरिषद् १५ सदस्यीय हुने छ । नयाँ मन्त्रीहरु सबै राजापाक्षेत्रको पार्टीबाट हुने भएका छन् ।
तत्कालीन सत्तारुढ दल युनाइडेट नेसनल पार्टी (युडीपी)का तर्फबाट राष्ट्रपतिका लागि उम्मेदवार बनेका ५३ वर्षीय सजिथ प्रेमादासलाई झण्डै १३ लाख मत अन्तरले पराजित गर्दै ७० वर्षीय राजापाक्षे राष्ट्रपति बनेका हुन् ।
निर्वाचनका बेला उम्मेदवारहरुले राष्ट्रिय सुरक्षा, आर्थिक सुधार, भ्रष्टाचार न्युनिकरण, सार्वजनिक सेवाको सुधार लगायतका विषयलाई मुख्य एजेन्डा बनाएका थिए । अन्तर्राष्ट्रिय विषयमा भने राजापाक्षले श्रीलंकालाई सबैभन्दा बढी आर्थिक सहयोग गर्ने चीनसँग सम्बन्ध सुधार्नु पर्नेमा जोड दिएका थिए ।
झण्डै १० वर्षअघि रक्षा सचिव रहेका बेला तमिल टाइगर्सको द्वन्द्व अन्त्यका लागि महत्वपूर्ण भूमिका खेलेका राजापाक्षे राष्ट्रपतिमा निर्वाचित भएका हुन् । श्रीलंकाली सेनाका पूर्व ‘लेफ्टिनेन्ट कर्णेल’ समेत रहेका राजापाक्षे दाइ महिन्दा राष्ट्रपति भएका बेला रक्षा सचिव थिए ।
नयाँ राष्ट्रपति चयनका लागि श्रीलंकामा गत शनिबार मतदान भएको थियो भने मत परिणाम आइतबार घोषणा गरिएको थियो । निर्वाचन आयोगका अध्यक्ष महिन्दा देशाप्रियाले शनिबार भएको मतदानका क्रममा कुल मतदाता मध्ये झण्डै ८० प्रतिशत मतदाता सहभागी भएको बताए ।
मतदानका लागि देशभरी १२ हजारभन्दा बढी मतदान केन्द्र राखिएको थियो भने ६८ हजार सुरक्षाकर्मी परिचालन गरिएको थियो । राष्ट्रपति चयनका लागि १ करोड ६० लाख मतदाता थिए भने ३५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए ।
प्रकाशित मिति: बिहीबार, मंसिर ५, २०७६