काठमाडौं: राजधानीको एक क्याम्पसमा बीए एलएलबी चौथो सेमेस्टरमा अध्ययनरत २३ वर्षीया पूजा (नाम परिवर्तन) आठ वर्षअघि बैतडी जिल्ला सदरमुकाम खलङ्गामा भएको पाशविक र पीडादायी घटना सम्झना पनि गर्न चाहन्नन् ।
वि.सं. २०६८ चैतमा गाउँबाट एसएलसीको परीक्षा दिन सदरमुकाम झरेकी पूजामाथि भएको सामूहिक बलात्कारको घटनालाई जतिसुकै बिर्सन खोजे पनि न्यायको चेतनाले भने उनलाई बारम्बार झस्काइरह्यो ।
त्यही चेतनाले बारम्बार झस्काएकै कारण पीडित पूजाले आठ वर्षपछि न्याय पाएकी छन् । सर्वोच्च अदालतले पूजामाथि भएको पाशविक र पीडादायी अपराधमा संलग्न अभियुक्तलाई दोषी ठहर गरी ११ वर्ष कैद र १० लाख रुपियाँ क्षतिपूर्ति सजाय सुनाएको छ । तर अपराधी अझै फरार छन् ।
‘यो फैसलाले मेरो पीडामा मल्हमपट्टी लगाइदिएको छ’, पीडित पूजाले भनिन्, ‘अपराधीलाई छिट्टै पक्राउ गरी कानुनको कठघरामा उभ्याइयोस् ।’
सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र हरि फुयाँलको संयुक्त इजलासले यही सोमबार उक्त फैसला सुनाएको हो ।
तत्कालीन पुनरावेदन अदालत महेन्द्रनगरले जिल्ला अदालत बैतडीको फैसला उल्ट्याउँदै सामूहिक बलात्कार अपराधमा संलग्न सागर भट्ट र अमर अवस्थीलाई साधारण तारेखमा छोड्न आदेश दिएको थियो । सो आदेशले पूजालाई चोटमाथि चोट थपिदियो । दुवैजना फरार भए ।
तर पनि पूजाले हिम्मत हारिनन्, ‘इँटको जवाफ पत्थरले दिने’ दृढ विश्वासका साथ न्यायका लागि निरन्तर लडिरहिन् । अन्ततः आठ वर्षको सङ्घर्षपछि न्याय प्राप्त भयो । उनले थपिन्, ‘पुनरावेदन अदालतको फैसलाले पुनः मारेको अनूभूति गरेकी थिएँ ।’
१६ वर्षको किशोरी अवस्थामा भएको त्यो पीडादायी घटना सम्झन्न पनि चाहन्नँ । पुनरावेदन अदालतको आदेशपछि निराश बनेकी पूजा आफ्नो न्यायका लागि मात्र नभई आफूजस्तै अन्य पीडित चेलीबेटीको न्यायका लागि कानुन पढ्न थालेकी छन् ।
उनले व्यवस्थापन संकायमा कक्षा ११ र १२ उत्तीर्ण गरेपछि बीए एलएलबी पढ्न थालिन् । कानुन पढेर राम्रो वकिल वा न्यायाधीश बन्ने सपना उनको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ५, २०७६