काठमाडौं । मन्त्रिपरिषद् पुनर्गठनको चर्चा चलेको केही दिन भयो। यही कारण सरकारी कामसमेत प्रभावित भएपछि मन्त्रीहरूले नै मंगलबार मुख खोलेर सोधे, ‘प्रधानमन्त्रीज्यू, यथार्थ के हो ? ’
‘हो,’ प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् बैठकमा भने, ‘भोलि (बुधबार) कसैले कार्यक्रम नराख्नुहोला। चनाखो भएन, टाढा गयो, यता हेरफेर भयो भने मन्त्रीकै मर्यादाको पनि कुरा हुन्छ। त्यसमा तपाईंहरूले ख्याल गरिदिनुहोला।’ यसले बुधबार मन्त्रिपरिषद् हेरफेर हुने बलियो सम्भावना देखाएको छ। अन्नपूर्ण पाेस्टमा खबर छ ।
‘मन्त्रिपरिषद् पुनर्गठनको धेरै पहिलेदेखि चर्चा भएको छ। यस विषयमा मैले पार्टी सचिवालय बैठकमा पनि भनेकै छु। सामान्य हेरफेर हुन्छ। हेरफेर भन्नेबित्तिकै सबै पर्ने कुरा आएन। कतिपय नयाँ साथीलाई अवसर दिन पनि यस्तो गर्नुपर्छ,’ प्रधानमन्त्रीले बैठकमा भनेको उधृत गर्दै एक मन्त्रीले अन्नपूर्णसँग भने, ‘कोही दोहोरिनुहोला, कोही बाहिरिनुहोला, अहिलेसम्म साथ दिनुभयो धन्यवाद। यसलाई अन्यथा नलिइदिनुहोला।’
त्यसअघि मन्त्रीहरूले प्रधानमन्त्रीसँग जिज्ञासा राखेका थिए, ‘मन्त्रिपरिषद् पुनर्गठनको विषय के हो ? यो हुन्छ कि हुन्न ? हुन्छ भने गरिहाल्नुप¥यो, हँुदैन भने पनि हुँदैन भनेर स्पष्ट पार्नुपर्ने भयो। बाहिर मान्छेहरूले मन्त्रीहरू आजका हुन् कि भोलिका भनेर प्रश्न गर्न थालिसकेका छन्। यसले राम्रो सन्देश गएको छैन।’
स्रोतका अनुसार प्रधानमन्त्री ओलीले एक चरणको सूची तयार पारेका छन्। उनी ५ देखि १० जनासम्म मन्त्री फेर्ने तयारीमा छन्।
प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वमा २०७४ फागुन ३ मा सरकार गठन गरेका थिए। त्यसयता उनले २०७५ जेठमा तत्कालीन संघीय समाजवादी पार्टी (हाल समाजवादी) का नेताहरूलाई सरकारमा सहभागी गराएका थिए । त्यसपछि उनले आफ्नो अभिव्यक्तिका कारण विवादमा आएका तत्कालीन कानुनमन्त्री शेरबहादुर तामाङले राजीनामा दिएपछि भानुभक्त ढकाल र पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि योगेश भट्टराईलाई मन्त्रीमा नियुक्त गरेका थिए।
को-को फालिँदैछन् ?
मन्त्रिपरिषद् हेरफेर गर्दा प्रधानमन्त्रीले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादव, कृषिमन्त्री चक्रपाणि खनाल, महिला बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापा र खेलकुदमन्त्री जगत विश्वकर्मालाई बिदाइ दिने तयारी छ ।
त्यस्तै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, श्रममन्त्री गोकर्ण विष्ट, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, खानेपानीमन्त्री विना मगर, भूमिसुधारमन्त्री पदमा अर्याललाई पनि हटाउन छलफल भएको छ। तर पार्टीभित्र समीकरण मिलाउनुपर्ने भएकाले रहने र फालिने यकिन नभएको स्रोतले जनायो ।
महिलाको ठाउँमा महिला, मधेसीको ठाउँमा मधेसी, जनजातिका ठाउँमा जनजातिलाई नै ल्याउने तयारी प्रधानमन्त्रीको छ। यसका लागि उनले अर्का अध्यक्ष दाहालसँग सहमति लिएका छन्।
प्रकाशित मिति: बुधबार, मंसिर ४, २०७६