काठमाडाैं । आज नोभेम्बर १९ अर्थात् । ‘शौचालयको पहुँचबाट कोही वञ्चित नहोस्’ भन्ने मूलनाराका साथ नेपालमा पनि यो दिवस मनाइएको छ । विश्व शाैचालय दिवसको अवसरमा काठमाडौमा आयोजित कार्यक्रमका वक्ताहरुले काठमाडौ महानगरपालिकाले शौचालय निर्माणमा तीव्रता दिनुपर्ने र भएका शौचालयको उचित व्यवस्थापन गर्नुपर्ने जोड दिएका छन् ।
देश खुल्ला दिसामुक्त क्षेत्र घोषणा भइसके पनि काठमाडौं महानगरका ३४ वडामध्ये १६ वडामा त सार्वजनिक शौचालय नै छैनन् । महानगरभित्र भएका ५८ वटा सार्वजनिक शौचालयमध्ये १५ वटा शौचालय प्रयोगविहीन छन् । आफ्नो घरमा शाैचालय नभएका कारण खुल्ला ठाउँमा दिसा गर्ने धेरै छन् भने सार्वजनिक शौचालय नभएको कारण खुल्ला ठाउँमा दिसा गर्नेहरु पनि उत्तिकै छन् ।
शौचालयको अभावमा काठमाडौंका पशुपति क्षेत्र, स्वयम्भू क्षेत्र, शंखमूल पार्क, विभिन्न आकासे पुल, नदीका किनारलगायतका स्थान आपतकालीन शौचकेन्द्र बनेका छन् । यस्ता समस्या भएका कारण महानगरपालिकाले सार्वजनिक शौचालय निर्माणमा तीव्रता दिनुपर्ने उनीहरूको जोड छ ।
आज शाैचालय दिवसको अवसरमा भएको कार्यक्रममा खानेपानी तथा ढल व्यवस्थापन विभाग, ढल व्यवस्थापन तथा वातावरणीय सरसफाइ शाखाका प्रमुख देवेन्द्र झाले काठमाडौँ उपत्यकामा सार्वजनिक शौचालयको अपर्याप्तता र बागमतीमा सिधै ढल मिसाउने समस्या रहेकाले यसको समाधानको उपाय खोजिनुपर्ने बताएका छन् ।
कार्यक्रममा प्रतिनिधिसभाका सांसद् जीवनराम श्रेष्ठले सभ्यताको चिनारी दिने भनेकै सरसफाइ भएकाले सहरमा आवश्यकता अनुसार शौचालय बनाउन पहल गरिने प्रतिबद्धता व्यक्त गरे ।
पूर्व वातावरणमन्त्री गणेश साहले अबको केही वर्षभित्र एप्सको माध्यमबाट सार्वजनिक शौचालय पत्ता लगाएर दिसापिसाब गर्नुपर्ने अवस्था आउने बताएका छन् ।
काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले सहरी योजना आयोगसँगको छलफलपछि काठमाडौं उपत्यकामा ४५ वटा सार्वजनिक शौचालय थप गर्नुपर्ने निष्कर्षमा पुगी निर्माणको चरणमा प्रवेश गरिसकेको बताए ।
काठमाडौं महानगरपालिका सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले काठमाडौ महानगरपालिकाभित्रको सार्वजनिक शौचालयको समस्या हल गर्नका लागि शाैचालयको निर्माणको काम सुरुवात भइसकेको बताए । उनले भिजिट नेपाल २०२० सँग मिलेर केही ई–शौचालय र पक्की संरचनासहितको शाैचालय निर्माण गरिने बताए ।
प्रकाशित मिति: मंगलबार, मंसिर ३, २०७६