बैतडी । मरेको कुखुराको मासु खाँदा मंगलबार बैतडीमा १ किशोरीको मृत्यु भएको छ भने एकै परिवारका ९ जना बिरामी परेका छन् ।
मृत्यु हुनेमा पुर्चौंडी नगरपालिका–२, जरसौंका १५ वर्षीया पुष्पा पार्की हुन् । गएको शनिबार साँझ मरेको कुखुराको मासु घर–परिवारका सबै सदस्यले खाएका थिए । उनीहरु आइतबारदेखि बिरामी परेका स्थानीय केशव पन्तले बताए । मासु खाएपछि बान्ता हुने, झाडापखालालगायतका लक्षण देखिएको बताइएको छ ।
शनिबार रातिदेखि नै बिरामी पुष्पाको मंगलबार घरमै मृत्यु भएको हो । मासु खाएपछि स्थानीय ७० वर्षीया पार्वती पार्की, ३३ वर्षीया गंगा पार्की, ८ वर्षीय राकेश पार्की, ३५ वर्षीय जानकी पार्की, १२ वर्षीय मनोज पार्की, १० वर्षीय रमेश पार्की, ६ वर्षीय भुवन पार्की, ६ वर्षीय रुपेश पार्की र ४ वर्षीया सपना पार्की बिरामी भएका छन् ।
बिरामीहरुलाई स्थानीय स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुले औषधि दिएपनि ठीक भएन । थप उपचारका लागि हाट स्वास्थ्यचौकीमा लगिएको महादेवस्थान स्वास्थ्यचौकीका अहेव राधिका कुँवरले जानकारी दिइन् ।
प्रकाशित मिति: मंगलबार, मंसिर ३, २०७६