चरिकोट । सिन्धुपाल्चाेककाे खाडीचौरबाट दाेलाखाकाे चरिकोटसम्मकाे सडक समयमा निर्माण नगरेकाे भन्दै दाेलखाबासीले ठेकेदार विरुद्ध मानव साङ्लो बनाएर विरोध प्रदर्शन गरेका छन् ।
मंगलबार बिहान चरिकोटको सातदोबाटोमा जिल्लावासीले स्वस्फूर्त रूपमा खाडीचौर-चरिकोट सडकको मुडे-चरिकोट खण्डको निर्माणमा ढिलाइ गर्ने ठेकेदार दीपक सापकोटाविरूद्ध मानव साङ्लो बनाएर विरोध प्रदर्शन गरेका हुन् ।
सिन्धुपाल्चोक खाडीचौर– मुडे २५ किमी र मुडे–चरिकोट ३० किमी बेग्लाबेग्लै ठेक्का निकालेर सडक निर्माणको जिम्मेवारी दिए पनि सडक निर्माण अलपत्र छ ।
मंगलबार बिहान चरिकोटस्थित सातदोबाटोमा मुखमा कालो मास्क लगाएर निस्किएका करिब ५ सय दोलखावासीले मानव साङ्लो बनाएर शंकरमाली निर्माण सेवाका ठेकेदार सापकोटाविरुद्ध प्रदर्शन गरिएको प्रदर्शनमा सहभागी रमेश खतिवडाले बताए ।
यसअघि गत शनिबार स्थानीयले सोही ठेकेदारको फोटो सार्वजनिक सवारी साधनमा टाँसेर विरोध गरेका थिए । २ वर्षमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का लिएको ठेकेदार कम्पनीले ४ वर्ष वितिसक्दा समेत पनि कालोपत्रे नगरेकोले ठेकेदारलाई नैतिक दबाव दिन विरोध गरेका हुन् ।
भारतीय एक्जिम बैंकको करिब १ अर्ब २४ करोड रुपैयाँ ऋण सहयोगमा सिन्धुपाल्चोक जिल्लाको खाडीचौरदेखि चरिकोटसम्मको ५५ किलोमिटर सडक विस्तार आयोजनाले ढल तथा नालाको व्यवस्थापनसहित कालोपत्रे गर्ने योजना थियो ।
प्रकाशित मिति: मंगलबार, मंसिर ३, २०७६