काठमाडौं । नेपालको हिमाली क्षेत्रमा विभिन्न समयमा जासुसी जालो फैलिने तथा विदेशी स्वेच्छाचारिता प्रदर्शनले चर्चा पाइरहेको छ । सम्बन्धित निकायको अनुमतिबिना विभिन्न देशका नागरिक तथा संघसंस्थाले कहिले अनुसन्धानको नाममा त कहिले नयाँ इतिहास रच्ने नाममा हिमाली क्षेत्रमा गिद्धेनजर लगाउने गरेका छन् । त्यति मात्र नभई हिमाली क्षेत्रमा आफ्नो यौन पिपासुपन देखाउनेदेखि सहजताको नाममा बन्देज गरिएका उपकरण लैजाने, प्रयोग गर्ने, जडान गर्नेसम्मको हर्कत गर्ने गरेको पाइन्छ ।
संसारकै सुन्दर हिमाल आमाडब्लमको चुचुरोमा गत बुधबार मात्र अवैधानिक रुपमा १ सय मिटर लामो कुबेतको झण्डा फहराइएको छ । १ सय मिटर लम्बाइ र ३० मिटर चौडाइ भएको त्यस झण्डालाई ६ टुक्रामा विभाजन गरेर त्यहाँ पुर्याइएको स्रोतले जनाएको छ । ६ हजार ८ सय २८ मिटर उचाइको आमाडब्लम हिमालमा झण्डा फहराइएको हो । ‘के–फ्ल्याग’ नामक मिसनअन्तर्गत अमाडब्लम पुगेको कुवेती टोलीले पर्यटन विभागसँग झण्डा फहराउन अनुमति भने लिएको छैन ।
त्यस्तै सगरमाथा क्षेत्रमा ३ वर्षयता अनुमतिबिना उडाइएका ८ वटा ड्रोन क्यामेरा बरामद गरिएको सगरमाथा राष्ट्रिय निकुञ्जले जनाएको छ । ड्रोन क्यामेरा उडाउन गृह मञ्त्रालयबाट स्वीकृति लिनुपर्ने व्यवस्था छ ।
सगरमाथा क्षेत्र घुम्न आउँदा धेरै पर्यटकले गृह मन्त्रालयबाट स्वीकृति नै नलिई आउने गरेको र सहज रुपमा प्रयोग गर्न पाउने–नपाउने विषयमा सोध्नेको क्यामेरा सुरक्षित राखिदिने र फर्कंदा जिम्मा दिने गरेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ ।
झोला परीक्षणका लागि उपयुक्त उपकरण नभएको था सबैको झोला खोतलेर हेर्न नमिल्ने भएकाले ड्रोन क्यामेरा त्यस क्षेत्रका लागि चुनौती बनिरहेको छ ।
नेपालमा ड्रोन क्यामेरा उडाउन रक्षा, गृह मन्त्रालय र निकुञ्जबाट स्वीकृति लिनुपर्ने व्यवस्था छ । हिमाली राष्ट्रिय निकुञ्ज संशोधित नियमावली, २०७५ अनुसार सगरमाथा राष्ट्रिय निकुञ्जभित्र कुनै पनि ड्रोन क्यामेराबाट फोटो वा भिडियो खिच्नुपरेमा शुल्क तिर्नुपर्छ भने अनुमति नलिई खिचेको पाइएमा त्यसको दोब्बर तिर्नुपर्ने व्यवस्था छ ।
यदि उक्त रकम नतिरेमा क्यामेरा नै बरामद गर्न सकिने नियमावलीमा उल्लेख छ । नियमावलीअनुसार ड्रोन क्यामेरा उडाउनका लागि नेपालीले १० हजार रुपैयाँ तथा भिडियो खिच्न थप २५ प्रतिशत शुल्क तिर्नुपर्छ भने विदेशीले १५ सय डलर तिर्नुपर्छ भने भिडियोको हकमा थप २५ प्रतिशत नै तिर्नुपर्ने व्यवस्था छ ।
सगरमाथा आरोहण गर्ने क्रममा १ अमेरिकी नागरिकले सगरमाथाको चुचुरोमै हस्तमैथुन जस्तो घृणित कार्य गरेको घटना गत जेठ महिनामा मात्र सार्वजनिक भयो । अमेरिकाको भर्जिन आइल्यान्डका एक ३६ वर्षीय युवकले सगरमाथा शिखरमा हस्तमैथुन गरेर रेकर्ड कायमको दुस्साहस गरेको गरेका थिए । तर यो घटना यस वर्षको नभएर सन् २०१० भन्दा पहिले भएको पर्यटन बोर्डले दाबी गरेको छ । उक्त घटनाले सामाजिक सञ्जालमा मात्र चर्चा पायो, तर कुनै कारबाही नै हुन सकेन ।
वि.सं. २०५९ सालमा इम्जाताल, गोक्योताल, कालापत्थर लगायतका क्षेत्रमा विदेशीहरुले विभिन्न उपकरण जडान गरेका थिए । समुद्र सतहदेखि ५ हजार १० मिटरको उचाइमा रहेको इम्जा तालमा जापानी नागरिकहरुले विभिन्न स्वचालित उपकरण तथा क्यामेराहरु जडान गरी तालको चलायमान अवस्थाहरु र तालको पग्लने दर जापान बसेर हेर्दै आएका थिए ।
त्यस्तै गोक्यो क्षेत्रमा मात्र त्यस समयको विभिन्न ५ वटा स्वचालित क्यामेरा अवैधानिक रुपमा जडान भएका थिए । त्यसबेला सोलुखुम्बूका तत्कालीन प्रमुख जिल्ला अधिकारी भवानीप्रसाद पराजुलीले सगरमाथा राष्ट्रिय निकुञ्जका कर्मचारीलाई सामग्री उठाउन निर्देशन दिएका थिए ।
त्यति मात्र नभई एकताका सगरमाथाको क्याम्प २ मा समेत विभिन्न उपकरण जडान गरेको त्यहाँ जाने भरियाहरुले देखेका थिए । त्यहाँ नेपालको अनुगमन गर्ने सम्बन्धित निकायको उपस्थिति कम हुँदा विदेशीहरूले नांगो हस्तक्षेप गरिरहेका हुन् ।
सगरमाथा क्षेत्रमा थुप्रिएको फोहोर समेत उठाउन नसकेको बेला अनुगमनको काम त कल्पनाभन्दा टाढाको विषय रहेको स्थानीय बताउँछन् ।
नेपाल पर्यटन बोर्डकी निर्देशक मीरा आचार्यका अनुसार अहिलेको ताजा घटना झण्डाको आकार कस्तो हुने भन्ने विषयमा मापदण्डमा नै अन्योल भइरहेको छ । नेपालको कानुन तथा विभिन्न ऐन अध्ययन गरेर आवश्यक कारबाही गर्नका लागि छलफल भइरहेको आचार्यले बताइन् ।
प्रकाशित मिति: सोमबार, मंसिर २, २०७६