अमेरिकाको दक्षिण भागमा पर्ने क्यालिफोर्निया राज्यमा शनिबार बिहान भएको गोलीकाण्डमा परी ५ जनाको मृत्यु भएको छ ।
मृत्यु भएका मध्ये ३ जना बालबालिकासमेत रहेका स्थानीय स्रोतले जानकारी दिएको छ । हत्या गर्ने व्यक्तिको पनि मृत्यु भएको विश्वास गरिएको सो स्रोतले जनाएको छ ।
स्थानीय एक पत्रिकाले प्याराडाइज हिलमा उक्त घटना भएको लेखेको छ । उत्तरी अमेरिका र मेसिक्कोको सीमा क्षेत्रदेखि ३५ किलोमिटर टाढा रहेको ठाउँमा घटना भएको जनाइएको छ ।
स्थानीय समयानुसार शनिबार बिहान ६: ४९ मा घटनाका बारेमा प्रहरीलाई पहिलो फोन आएको प्रहरी स्रोतले जनाएको छ । मृत्यु भएकामध्ये १ जना ३ वर्षे बालक, १ जना २९ वर्षीया महिला र ३१ वर्षीय १ पुरुषको घटनास्थलमै मृत्यु भएको थियो । अर्का ५ वर्षीय र ९ वर्षीय दुई बालकको अस्पतालमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ ।
गोली लागी घाइते भएका अर्का ११ वर्षीय १ बालकको भने अहिले अस्पतालमा उपचार भइरहेको जनाइएको छ । घटनास्थलमा प्रहरीले एउटा बन्दुक भेटेकाे बताएको छ । घटना किन र के कारणले भयो भन्ने बारेमा केही थाहा पाउन नसकिएको प्रहरीको भनाइ छ । प्रहरी अधिकारीहरुले घटनाका बारेमा अनुसन्धान सुरु गरिसकिएको जनाएका छन् ।
प्रकाशित मिति: आइतबार, मंसिर १, २०७६