काठमाडाैं । मकवानपुरको भीमफेदी कारागारबाट गए राति कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय काटिरहेका एक कैदी फरार भएका छन् । कारागार प्रशासनका अनुसार ३० वर्षका कुलदीपराज धामी फरार भएका हुन् ।
कारागारका प्रमुख जेलर प्रकाश खनालले कैदीलाई भगाउन कसैको सहयोग रहेको आशङ्का गर्दै कारागार वरिपरि १२ फिटभन्दा अग्लो पर्खाल रहेकाले नाघेर भाग्न एक्लैले सम्भव नरहेकाले अनुसन्धान भइरहेको जानकारी दिए । यद्यपि पर्खालको केही सानो भागमा ग्याप रहेको र त्यहाँ तार तानिएको भेटिएकाले धामी त्यहीँबाट भागेको हुनसक्ने अनुमान रहेको उनले बताए ।
धामीको खोजीका लागि उनको स्थायी घर चितवन र पुरानो ठेगाना सुनसरीमा समेत ‘अर्लट’ गरिएको जेलर खनालले बताए । कारागारमा रहेका कैदीहरूको आन्तरिक प्रशासनले राति पौने १० बजे आफूलाई खबर गरेपछि तत्कालै खोजी अघि बढाइएको उनले जानकारी दिए ।
जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा २० वर्ष जेल तोकिएका धामीले ५ वर्षदेखि सजाय काटिरहेका थिए ।
प्रकाशित मिति: आइतबार, मंसिर १, २०७६