काठमाडौं: सरकारले राजस्व संकलनमा उल्लेख्य सुधार भएको बताए पनि कर तिर्नेको संख्या भने न्युन देखिएको छ । आन्तरिक राजस्व विभागले दिएको जानकारीअनुसार कुल जनसंख्याको १० प्रतिशत जनतामात्रै करको दायरामा समेटिएका छन् ।
आठौं राष्ट्रिय कर दिवसको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा आन्तरिक राजस्व विभागका महानिर्देशक विनोद कुँवरले हालसम्म मुलुकभरबाट जम्मा २९ लाख ६५ हजार करदाता करको दायरामा रहेको जानकारी दिए ।
उनले भने, ‘गत वर्ष २१ लाख करदाता थिए भने अहिले यो संख्या करिब ३० लाख नजिक पुगेको छ । यो वर्ष आठ लाख करदाता थपिएको हाम्रो अनुमान छ ।’ आजको कारोबार दैनिकमा समाचार छ ।
प्रकाशित मिति: आइतबार, मंसिर १, २०७६