काठमाडौं । उद्याेगपति रूपज्याेति र उनकी छाेरी सुरुची ज्याेति प्रहरी हिरासतबाट रिहा भएका छन् ।
सरकारी वकिलकाे कार्यालयले ज्याेतिका बाबुछाेरीलाई हाजिरी जमानतमा छाड्न पत्राचार गरेपछि प्रहरीले उनीहरंलाई रिहा गरेकाे हाे । ठगी गरेको आरोपमा पक्राउ परेका उद्योगी रुपज्योतिविरुद्ध सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने निर्णय गर्दै रिहा गर्न आदेश गरेकाे थियाे ।
प्रहरीले आफ्नो अनुसन्धान सकाेएर सरकारी वकिलको कार्यालयमा प्रतिवेदन पेस गरे पनि वकिलको कार्यालय काठमाडौंले मुद्दा दायर नगर्ने निर्णय गरेर अनुसन्धान फाइल उच्च सरकारी वकिल कार्यालय पाटन पठाएकाे छ ।
जिल्ला सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता चन्द्रकान्त खनालका अनुसार ठगीमा परेको भनिएका पीडितले आफूले पाउनुपर्ने रकम पाइसकेको निवेदन दिएकाले मुद्दा नचलाउने निर्णय गरिएको जानकारी दिए ।
यही कात्तिक २१ गते सिंगापुरबाट काठमाडौं फर्कने क्रममा उनलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो । जिल्ला अदालत काठमाडौंले २०७५ मंसिर २० गते ज्योतिको नाममा पक्राउ पुर्जी जारी गर्न अनुमति दिएको थियो ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २९, २०७६