काठमाडौं । सरकारी वकिलकाे कार्यालयले ठगी गरेको आरोपमा पक्राउ परेका उद्योगी रुपज्योतिविरुद्ध मुद्दा नचलाउने भएको छ ।
प्रहरीले आफ्नो अनुसन्धान सकाेएर सरकारी वकिलको कार्यालयमा प्रतिवेदन पेस गरे पनि वकिलको कार्यालय काठमाडौंले मुद्दा दायर नगर्ने निर्णय गरेको हो ।
जिल्ला सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता चन्द्रकान्त खनालका अनुसार ठगीमा परेको भनिएका पीडितले आफूले पाउनुपर्ने रकम पाइसकेको निवेदन दिएकाले मुद्दा नचलाउने निर्णय गरिएको जानकारी दिए । उनकाे अनुसन्धान फाइल हिजै सरकारी वकिल कार्यालयले प्रहरीलाई फिर्ता पठाइसकेकाे छ ।
उद्योगी रूपज्योतिलाई रिहा गर्न प्रहरीलाई पत्राचार गरिसकेको पनि खनालले जानकारी दिए । यही कात्तिक २१ गते सिंगापुरबाट काठमाडौं फर्कने क्रममा उनलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो ।
जिल्ला अदालत काठमाडौंले २०७५ मंसिर २० गते ज्योतिको नाममा पक्राउ पुर्जी जारी गर्न अनुमति दिएको थियो ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २९, २०७६