विराटनगर । डोरीतान कमिटी मोरङले आउँदाे शनिबारबाट जिल्लास्तरीय डोरीतान प्रतियोगिता सञ्चालन गर्ने भएको छ ।
विराटनगर डोरीतान कमिटीद्वारा बिहीबार आयोजित पत्रकार सम्मेलनमा कमिटीका अध्यक्ष दीपकप्रसाद घिमिरेले यस खेलको माध्यमबाट युवालाई खेलकुदमा सक्रिय बनाइने बताए ।
प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको प्रमुख आतिथ्यतामा हुने प्रतियोगिताको प्रदेश नं १ का १६ जना प्रदेश सांसदहरुले डोरी तानेर उद्घाटन गर्ने बताइएकाे छ ।
डोरीतान खेलको प्रवर्द्धन गर्न विराटनगर डोरीतान कमिटीले जिल्लाभरी टिम बनाएर शनिबारदेखि विराटनगर रङ्गशालामा जिल्लास्तरीय प्रतियोगिता सञ्चालन गर्न लागेको हो ।
अध्यक्ष घिमिरेका अनुसार प्रतियोगितामा २० टिम सहभागी हुने छन् । प्रतियोगिताको विजेताले ५१ हजार तथा उपविजेताले ३१ हजार नगद र मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् ।
प्रतियोगितामा नेपाल पत्रकार महासंघ मोरङको टोलीसमेत सहभागी हुने अध्यक्ष बन्धु पोखरेलले दिएका छन् ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २९, २०७६