काठमाडाैं । बंगलादेशमा बिहीबारबाट सुरु एसिसी इमर्जिङ टिम्स कपमा नेपाल पहिलो खेलमा पराजित भएको छ।
बंगलादेशमा जारी प्रतियोगितामा नेपालले खराब सुरुआत गरेको हो । पहिलो खेलमा नेपाल भारतको यू–२३ टिमसँग ७ विकेटले पराजित भएकाे हाे ।
बंगलादेशको साभर सहरमा भएको खेलमा नेपालले दिएको १९४ रनको लक्ष्य सहज पूरा गर्न भारतीय टोलीले ४२ ओभरमा ३ विकेट खर्चियो ।
नेपालका लागि पवन सर्राफले अर्धशतक पूरा गरेका थिए । ४९ बलको सामना गरेका पवनले सात चौका र दुई चौकाको मद्दतमा ५६ रन बनाएका थिए ।
यस्तै शरद भेषवाकरले ४४, कुशल भुर्तेलले २८ र दिपेन्द्र सिंह ऐरीले २४ रन जोडेका थिए । नेपाललाई मध्यम स्कोरमा समेट्न भारतका सौरभ डुबेले ४ विकेट, एस राठोडले ३ तथा पर्थ रेखाडेले २ विकेट लिएका थिए।
नेपालले दिएको १ सय ९४ रनको लक्ष्य पछ्याएको भारतले ४२ ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो। भारतको जितमा शनबिर सिंहले ५६, अर्मान जाफर ५१, बेलुर रभी सरथले ४९ रन र आर्यन जुएलले २९ रन बनाए । नेपालका करण केसी, सुशन भारी र ललित नारायण राजवंशीले १/१ विकेट लिए ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २८, २०७६