काठमाडौं । अब निजामती कर्मचारीले २ वर्ष बढी जागिर खान पाउने भएका छन् । संघीय संसद अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले सरकारी कर्मचारीको उमेरहद ५८ बाट ६० वर्ष पुर्याउने निर्णय गरेको हाे ।
निजामती सेवा ऐनमा निजामती कर्मचारीहरुको उमेर अहिले ५८ वर्ष छ । संसदीय समितिले नेपाली नागरिकको औसत आयु बढ्दै गएकाले कर्मचारीको उमेर हद पनि बढाउने निर्णय गरिएको जनाएको छ ।
लोकसेवा आयोगले नेपालीको औसत आयु बढेकाले, छिटो अवकाश हुँदा पेन्सनको भार बढ्ने भएकाले, महिलाहरुको सेवा अवधि नपुग्ने भएकाले, सार्क देशमा समान बनाउनका लागि उमेर हद ६० वर्ष राख्नुपर्ने सुझाव सरकारलाई दिएको छ । यो संसदबाट पारित भएर राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि कार्यान्वयनमा आउने छ ।
सहमति अनुसार अब वि. सं. २०१८ साल जन्म मिति भएका कर्मचारीले अब ६८ वर्ष ६ महिना उमेर पूरा भएपछि अवकास पाउनेछन् । त्यस्तै, वि. सं. २०१९ सालमा जन्मिएका कर्मचारीहरूले ५९ वर्षमा, २०२० मा जन्मिएका कर्मचारीले ५९ वर्ष ६ महिना र २०२१ सालमा जन्मिएका कर्मचारीहरूले ६० वर्ष उमेर पूरा भएपछि अवकास पाउने छन्।
प्रकाशित मिति: बिहीबार, कात्तिक २८, २०७६