पाेखरा । नेपालको ४ दिने सद्भावना भ्रमणमा आएका बंगलादेशी राष्ट्रिपति मोहम्मद अब्दुल हमिदले कास्कीको पोखरास्थित फेवातालमा डुंगा सयर गरेका छन् । उनी आज मध्यान्ह करिब १२ बजे पोखरा आएका हुन् । विमानस्थलमा उनको स्वागतपछि डुंगा सयर गराइएको हो ।
हमिद काठमाडौँबाट नेपाली सेनाको हेलिकप्टरबाट पोखरा विमानस्थलमा अवतरण गरेका हुन् । सो अवसरमा गण्डकी प्रदेशका प्रमुख अमिक शेरचन, प्रदेशका कार्यबाहक मुख्यमन्त्री किरण गुरुङ, प्रदेश सरकारका मन्त्रीहरु, प्रदेशसभाका प्रतिपक्षी दलका नेता कृष्णचन्द्र नेपाली, सांसद खगराज अधिकारी, प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारी र पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले उनको स्वागत गरेका थिए ।
सोही अवसरमा राष्ट्रपति हमिदसमक्ष पञ्चकन्याद्वारा फूल अर्पन गर्नुका साथै पञ्चेबाजाको धुनबाट भव्य स्वागत गरिएको थियाे । हमिदको स्वागतका लागि ठाउँठाउँमा नेपाल र बंगलादेशको झण्डा पनि राखिएको छ ।
फेवाताल शयरपछि फिस्टेल लजमा लञ्च ब्रेक हुनेछ । त्यसपछि उनी हेलिकप्टरमा रुपाकोट रिसोर्ट जाने छन् । रुपाकोटमा हमिदलाई प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले स्वागत गर्ने छन् । रुपा गाउँपालिकाले त्यहाँ स्वागत गेट बनाउनेदेखि विभिन्न कला, सांस्कृतिक नाच झाँकीहरु प्रदर्शन गर्ने छ ।
रुपाकोटमा उनले एक घण्टा बिताउने कार्यक्रम छ । त्यसपछि उनी आजै काठमाडौं फर्कने छन् ।
तस्बिरहरूः रासस
प्रकाशित मिति: बिहीबार, कात्तिक २८, २०७६