मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–८ का वडाध्यक्ष डिभी (डाइभर्सिटी भिसा) परेर अमेरिका गएपछि सार्वजनिक सेवा र विकास निर्माणको काम प्रभावित भएको छ ।
चुनाव जितेका वडाध्यक्ष अमेरिका गएपछि विगत ७ महिनायता वडा कार्यालय नेतृत्वविहीन बनेको छ । समयमै राजीनामासमेत नआएपछि त्यहाँ उपनिर्वाचनसमेत नहुने अवस्था रहेको जनाइएको छ ।
वडा सदस्य नवराज अधिकारीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएर २०७५ चैत २७ गते वडा अध्यक्ष जगतमान घिसिङ परिवारसहित अमेरिका गएका थिए । अध्यक्ष घिसिङको राजीनामा समयमा नआएकाले उपनिर्वाचनका लागि समस्या भएको निर्वाचन कार्यालय मकवानपुरका प्रमुख गोविन्दप्रसाद पौडेलले बताए ।
निर्वाचन कार्यालयका प्रमुख पौडेललले राजीनामा जुनसुकै माध्यमबाट आए पनि त्यो हस्तलिखित हुनुपर्ने र हस्तलिखित नहुँदा मान्य नहुने प्रावधान रहेको बताए । उक्त वडामा उपनिर्वाचन हुन सुरुदेखिकै कुनै पनि प्रकिया नभएको प्रमुख पौडेलको भनाइ छ ।
अध्यक्ष घिसिङ निर्वाचन जितेपछि डिभी परेर अमेरिका उडेका थिए । उडेको ५ महिनापछि मात्र घिसिङले गाउँपालिकामा इमेलमार्फत राजीनामा दिएको गाउँपालिका प्रमुख हिदम लामाले जानकारी दिए ।
सुरुमा अमेरिका गएको भन्दै ३ महिनाका लागि बिदा लिएका वडाध्यक्ष घिसिङ ५ महिनासम्म पनि अमेरिकामै रहेको समाचार विभिन्न सञ्चारमाध्यममा आएपछि राजीनामा दिन बाध्य भएर इमेलमा राजीनामा पठाएको उनको भनाइ छ ।
‘घिसिङले इमेलमार्फत त राजीनामा पठाउनुभयो, तर हस्तलिखित राजीनामा पठाउन पनि आलटाल नै गर्नुभयो’, उनले भने ।
भदौमा इमेलमार्फत राजीनामा दिएका घिसिङको मध्य असोजसम्म पनि लिखित राजीनामा नआएको जनाइएको छ । असोजमा उम्मेदवार छनोटको तीव्र तयारी भइरहेको तर राजीनामा नआउँदा उपनिर्वाचन गराउन समस्या रहेको बताइएको छ ।
देशमा उपनिर्वाचन गराउने तयारी भइरहेको अवस्थामा समेत घिसिङले हस्तलिखित राजीनामा नपठाएका कारण उक्त वडामा उपनिर्वाचन नहुने भएको छ ।
उक्त वडामा विसं २०७४ भएको वडाध्यक्षको निर्वाचनमा नेकपाका जगतमान घिसिङको ५ सय ४१ मत थियो भने दोस्रो स्थानमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका सुन्दर राउतले २ सय २३ मत प्राप्त गरेका थिए । नेपाली कांग्रेसका दीपेशकुमार विश्वकर्माले १ सय ९१ मत प्राप्त गरेका थिए ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २८, २०७६