काठमाडौं । तपाईंका कलिला बालबालिका श्वास प्रश्वासजन्य रोगको सिकार त बन्दै छैनन् ? समयमा ध्यान नपु¥याउने र संवेदनशील नबन्ने हो भने तपाईंका बालबालिकालाई श्वासप्रश्वासको संक्रमणले लामो समयसम्म सताउन सक्ने देखिएको छ । श्वासप्रश्वासले जटिल रूप लिए निमोनिया हुन सक्ने र समयमा उपचार नभए बालबालिकाको मृत्युसमेत हुन सक्ने चिकित्सकले बताएका छन् । राजधानी दैनिकमा समाचार छ ।
सरकारकै एक तथ्यांकले एक वर्षको अवधिमा मात्रै १७ लाखभन्दा बढी बालबालिका त्यस्तो रोगको संक्रमणले प्रभावित भएको देखाएको छ । जुन कुल बालबालिकाका आधाभन्दा बढी हो ।
स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाका अनुसार २०७५/७६ मा १७ लाख बालबालिकाहरू स्वासप्रश्वाससम्बन्धी रोगबाट प्रभावित भएका हुन् । स्वासप्रश्वासजन्य रोगअन्तर्गत रुघाखोकी, फोक्सोमा संक्रमणलगायत पर्छन् ।
श्वासप्रश्वासजन्य रोगबाट प्रभावित १७ लाख बालबालिकामध्ये झन्डै १ लाख ५० हजार बालबालिकामा निमोनिया देखिएको छ । निमोनिया देखिएकामध्ये करिब ३ सय जनाको मृत्यु भएको महाशाखाले जनाएको छ ।
शिशु जन्मेको पहिलो ६ महिनासम्म पूर्ण स्तनपान नगराउने, बालबालिकालाई पूर्ण खोप नलाउने, सरसफाइमा ध्यान नदिनेलगायतका कारणले बालबालिकामा निमोनियाको समस्या देखिने गरेको परिवार कल्याण महाशाखाअन्तर्गत बालस्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डा. झलक शर्मा गौतमले बताए ।
निमोनिया भनेको फोक्सोमा हुने संक्रमण हो । निमोनिया भएमा खोकी लाग्ने, छिटोछिटो श्वास फेर्ने समस्या हुन्छ । पछिल्लो तथ्यांकअनुसार देशभर ३० लाख बालबालिका छन् ।
जन्मिएको ६ महिनासम्मका बालबालिकालाई स्तनपान नगराएमा र खोप लगाउनबाट वञ्चित भएका बालबालिकामा श्वासप्रश्वासजन्य रोगको सम्भावना बढी हुने चिकित्सकहरू बताउँछन् । शाखाको तथ्यांकअनुसार नेपालमा पाँच वर्षमुनिका बालबालिकाको मृत्युको प्रमुख कारण निमोनिया हो । बच्चा जन्मिने बित्तिकैको बिगौती दूध खाँदा रोगको जोखिमबाट बच्न सकिने चिकित्सकहरू बताउँछन् ।
सरकारले बाल स्वास्थ्यअन्तर्गत पोषण, खोप, नवजात शिशु तथा बालरोग व्यवस्थापनलगायत कार्यक्रमका लागि यस आर्थिक वर्षमा ४ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । सरकारले निमोनिया भएका बालबालिकाको खोप तथा औषधि उपचार खर्च निःशुल्क भनेको छ । तर, केही सरकारी अस्पतालले निःशुल्क सेवा नदिएको पाइएको छ । अझै पनि २१ प्रतिशत बालबालिकाले पूर्ण खोप पाएका छैनन् ।
ब्याक्टेरिया, भाइरस, परजीवीको संक्रमणले श्वासप्रश्वासजन्य रोग लाग्ने गर्छ । उनले भने, ‘श्वासजन्य रोग भनेको बालबालिकामा रुघाखोकी लाग्नु, फोक्सोमा संक्रमण हुनु हो । स्थानीय तहमा श्वासजन्य रोग लागेका बालबालिकाको उपचार निःशुल्क हुँदै आएको छ ।’
सन् २०१७ मा विश्वभरमा ८ लाख बालबालिकाको मृत्यु निमोनियाको कारणले भएको छ । प्रभावकारी कदम नचालेमा यो रोगको कारणले सन् २०३० सम्ममा विश्वभरि १ करोड १० लाख बालबालिकाको मृत्यु हुने अनुमान गरिएको छ ।
श्वासप्रश्वासजन्य रोग हुन नदिन के गर्ने ?
— नियमित गर्भजाँच गर्ने
—बच्चा जन्मनेबित्तिकै आमाको बिगौती दूध खुवाउने
—६ महिनासम्म आमाको दूध खुवाइन नछुटाउने
—६ महिनादेखि २ वर्षसम्म आमाको दूधसहित पौष्टिक तŒव खुवाउने
—बुवाआमाले बच्चाको नजिक चुरोट सेवन नगर्ने
—नियमित तालिका अनुसार खोप लगाउने
—नियमित हात धुने, शुद्ध खानेपानी तथा सरसफाइमा ध्यान दिने
लक्षण केके हुन् ?
–ज्वरो आउने
–श्वासप्रश्वास दर बढ्ने
–खानेकुरा नखाने
–छातीको तल्लो भागमा रहेका मांसपेसीभित्र पस्ने
–खोकी लाग्ने
–श्वास फेर्न कठिन हुने
–ससाना बालबालिकाले आमाको दूध नचुस्ने
प्रकाशित मिति: बिहीबार, कात्तिक २८, २०७६