काठमाडौँ । आफन्तबाटै भारतको वेश्यालयमा बेचिएकी एक नेपाली बालिकाको ८ वर्षपछि उद्धार गरिएको छ । पीडितको उजुरीपछि मानव बेचबिखन अपराध अनुसन्धान ब्युरोले उनलाई बेच्ने नुवाकोटकी ५० वर्षीया सुनिता तामाङलाई पक्राउ गरेको छ ।
उनले २०६८ माघमा आफ्नो नजिकको नाता पर्ने एक बालिकालाई भारतमा लगेर बिक्री गरेको खुलेकाे छ । आर्थिक अवस्था कमजोर भएकी र काठमाडौंको एक होटलमा काम गर्दै आएकी बालिकालाई तामाङले ललाइफकाई भारत पुर्याएकी थिइन् ।
उनले गाडीमा बान्ता नआउने औषधि भनेर लट्ठ्याउने औषधि पटक-पटक खुवाएर भारतको नयाँ दिल्ली पुर्याएको पीडित बालिकाको जाहेरीमा उल्लेख छ । बालिकालाई भारतको मधुन भन्ने ठाउँमा लगि कोठी सञ्चालकहरू लक्ष्मी र हेमालाई १० हजार भारतीय रूपैयाँमा बेचेकी थिइन् ।
भर्खर १५ वर्ष पुगेकी बालिकालाई कोठी सञ्चालकहरूले करिब एक महिना बन्धक बनाई युवती बनाउन सुई र औषधि प्रयोग गरेका थिए । त्यसपश्चात् उनलाई नयाँदिल्लीस्थित कोठी नम्बर ५११ मा २ बर्ष, कोठी नम्बर ६४ मा २ बर्ष र कोठी नम्बर ४० मा १५ दिन राखी यौनशाेषण गरेकाे प्रहरी अनुसन्धानबाट खुलेकाे छ ।
ती बालिकाका ग्राहक बनेर गएका एक नेपालीले उनको उद्धारमा सहयोग गरेको प्रहरीको दाबी छ।
प्रकाशित मिति: बुधबार, कात्तिक २७, २०७६