काठमाडौं । नेपाल बंगलादेश मैत्री संघले बंगलादेशसँगको कूटनीतिक सम्बन्ध मजबुत बनाएर अन्य सम्बन्ध अगाडि बढाउन सुझाव दिएको छ । पहिले कूटनीतिक सम्बन्ध बलियो बनाउन सकेमा शिक्षा, स्वास्थ्य, कृषि र व्यापारव्यवसायमा अघि बढाउन सकिने संघको विश्वास छ ।
संघका अध्यक्ष दीनदया रिजालले भने, बंगलादेश नेपालसँग निकै नजीक हुन चाहन्छ, ऊ पहिलो सम्बन्ध नै नेपालसँग राख्न चाहन्छ, त्यो भावनालाई नेपालले पनि बुझिदिनुपर्छ ।
नेपाल, भारत र बंगलादेशबीच फूलबारी नाका खुलाउने सहमति गर्नुपर्नेमा पनि उनले जोड दिए । उनका अनुसार जीप सवारीमा काकरभिट्टा–बूढीमारी सिमाना पुग्न साढे तीन घण्टा लाग्छ भने भद्र्रपुरबाट फूलबारी नाका पुग्न आधा घण्टा मात्र भए पुग्छ । सो नाका खुलेमा नेपालको पहुँच समुद्रसम्म पुग्ने उनको भनाइ छ ।
बंगलादेशमा स्याउ, सुन्तला, नास्पाती, आलुबखडा, अलैँची, अम्लिसो, तेजपात, सिमेण्ट, गिट्टीको माग बढी भएकाले नेपालले ती सामग्री नेपालबाट निर्यात गर्न सकिने रिजालले बताए ।
बंगलादेशमा निर्मित औषधि र कपडा संसारका प्रायः सबै देशमा जान्छ, हामीले उनीहरूबाट त्यससम्बन्धी सीप सिकेर आफ्नै उत्पादन गर्न सक्छौँ , रिजालले भने । बंगलादेशको चिकित्सा शिक्षा पनि उत्कृष्ट रहेको उनको भनाइ छ ।
केही वर्ष पहिले ढाका–काठमाडौं–ढाका बस सेवा एक दिन मात्र चली बन्द भएकाले त्यसलाई निरन्तरता दिनुपर्ने माग रिजालको छ ।
राष्ट्रिय बङ्गाली भाषालाई निकै महत्व दिने बङ्गालीहरू आफ्नो संस्कृति निकै मन पराउने तथा चाडबाडमा खानपिन र पहिरन पहिरिँदा स्वदेशी उत्पादन नै प्रयोग गर्न रुचाउने गर्छन् ।
तिनको यो बानी नेपालीले पनि ग्रहण गर्नुपर्ने सुझाव रिजाल दिन्छन् । साहित्य, कला र संस्कृति सम्बन्धमा पनि नेपाल र बंगलादेशले आदानप्रदान गर्नुपर्ने उनको भनाइ छ ।
बंगलादेशीहरू हिमाल, पहाड, डाँडाकाँडा देखेर आनन्दित हुन्छन्, नेपालको प्रकृतिप्रति उनीहरूको लगाव छ, उनीहरू नेपाली भूमि निकै मन पराउँछन्, यसलाई स्वर्ग नै मान्छन् , रिजालले भने, त्यसैले बंगलादेशीहरूलाई नेपालमा आकर्षित गर्न नेपाल सरकारले विशेष कार्यक्रम ल्याउनुपर्छ ।
सार्क र बिम्स्टेकको सदस्य राष्ट्र बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद चारदिने नेपाल भ्रमणका लागि मङ्गलबारदेखि यहाँ काठमाडौंमा छन् ।
उनले कला, संस्कृति र पुरातत्वमा अग्रणी मुलुक भक्तपुरको मंगलबार नै भ्रमण गरिसकेका छन् भने बिहीबार प्रकृतिका धनी पोखरा, रुपाकोट र शुक्रबार चन्द्रागिरि जाँदै छन् ।
बंगलादेशको स्वतन्त्रतालाई समर्थन गर्ने नेपाल सातौँ राष्ट्र भएकाले पनि नेपाल सधैँ बङ्गालीहरूको हृदयको माझमा छ । सार्क स्थापनामा नेपाल र बंगलादेशले विशेष पहल गरेका थिए ।
प्रकाशित मिति: बुधबार, कात्तिक २७, २०७६