काठमाडाैं । बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपालको आर्थिक विकासका लागि २ देशबीच साझेदारी बढाउने पक्षमा रहेकाे बताएका छन् ।
बङ्गलादेशका राष्ट्रपतिसँग राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आज गरेको शिष्टाचार भेटमा उनले आर्थिक साझेदारीका लागि पर्यटन र उर्जालगायतका क्षेत्रमा सहकार्य गर्न सकिने बताएका हुन् ।
अध्यक्ष तिमिल्सिनाले राष्ट्रपति हमिदसँगको भेटमा भएका कुराकानीबारे बारे जानकारी दिँदै २ देशबीच जनस्तरको सम्बन्ध विस्तारका साथै व्यापार प्रवर्द्धनका विषयमा कुराकानी भएको बताए ।
तिमिल्सिनाका अनुसार २ देशबीचको उच्चस्तरीय भ्रमणलाई नियमित गर्नेबारे दुबै पक्षबाट जोड दिइएको थियो । व्यापार बढाउन र व्यापार घाटा कम गर्न दुबै देशले प्रयास गर्ने विषयमा पनि कुराकानी भएको थियो ।
व्यापार घाटा कम गर्न ऊर्जाको व्यापार प्रवर्द्धन गर्ने कृषि उत्पादन बढाउन प्रेरित गर्ने आदिबारे छलफल भएको अध्यक्ष तिमिल्सिनाले जानकारी दिए । २ देशबीचको जनस्तरीय सम्बन्धलाई अझ प्रगाढ तुल्याउन सांसदहरुको भ्रमण आदान–प्रदानलाई निरन्तरता दिने विषयमा पनि कुराकानी भएको थियो ।
नेपाल भ्रमण वर्ष २०२० को पूर्व सन्ध्यामा भएको बङ्गलादेशी राष्ट्रपतिको भ्रमणले बङ्गलादेशबाट बढीभन्दा बढी पर्यटक भित्र्याउन सहयोग पुग्ने र यसलाई अझ विस्तृत रुपमा अघि बढाइनुपर्छ भन्नेमा राष्ट्रपति हमिदले विशेष जोड दिएका थिए । रासस
प्रकाशित मिति: बुधबार, कात्तिक २७, २०७६