वीरगन्ज। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सीमा नक्सा दुई देशको सहमतिमा बन्नुपर्ने बताएकी छिन् ।
पर्साको वीरगन्जमा आयोजित पार्टी कार्यकर्ता भेटघाटमा बोल्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् । मन्त्री अर्यालले लिपुलेक, कालापानी नेपालकै नक्सामा राखिसकेको बताइन् । मन्त्रालयले आयोजना गरेको आ.ब. ०७५-७६ को वार्षिक प्रगति समीक्षा गोष्ठी एवं प्रदेशस्तरीय २ दिने अन्तर्क्रिया कार्यक्रमा सहभागी हुन मन्त्री अर्याल वीरगन्ज आएकी हुन् ।
भारतले नयाँ नक्सा निर्माणमा नेपालको लिपुलेक पनि उतै राखेको सन्दर्भलाई संकेत गर्दै मन्त्री अर्यालले भनिन्, ‘लिम्पियाधुराको सवालमा प्रमाणहरु जुटाउँदै गरेको छ । लिपुलेक र कालापानी नेपालको नक्सामा नै राखिसकियो ।’
आफ्नो भूमि जोगाउन सरकारले कुनै कसर बाँकी नराख्ने समेत मन्त्री अर्यालले बताइन् । ‘यो सरकारले लिपुलेक, कालापानी र लिम्पियाधुरा लगायतको नेपाली भूमि जोगाउन कुनै कसर बाँकी राख्दैन । ज्यान फालेर भए पनि आफ्नो भूमि आफ्नै गरेर छोड्छ’, उनले भनिन् ।
पार्टीको नेतृत्व गरेर प्रधानमन्त्री बनेका केपी शर्मा ओली, झलनाथ खनाल, माधव नेपाल र जनयुद्धको नेतृत्व गरेर आएका प्रचण्ड जस्ता व्यक्तिहरु भएको पार्टीको नेतृत्वमा बनेको सरकारले एक इन्च पनि नेपाली भूमि अरुकोमा पार्न नदिने उनको भनाइ थियो । मन्त्री अर्यालले भनिन्, ‘अझ केपी शर्मा ओली नेतृत्वको यो सरकारले यस्ता कुरामा कुनै खुट्टा कमाउँदैन ।’
लोकतन्त्रको प्राप्तिसँगै जनताको अभिमतबाट आएको दुई तिहाईको सरकारले समृद्ध नेपाल सुखी नेपालीको नारा लिएर अगाडि बढिरहेको बताउँदै मन्त्री अर्यालले भनिन्, ‘अब सरकारले विकासको खाका मात्र बनाउँदैन । कामको प्रतिफल देखिने गरी काम गर्छ ।’
प्रकाशित मिति: बुधबार, कात्तिक २७, २०७६